अन्तर्राष्ट्रिय
स्पेनका नेपालीले यम बरालसँगै पीर भुले

विप्लव काफ्ले
स्पेन, वैशाख १-
नेपाली सुगम संगीत र पार्श्व गायनका लोकप्रिय गायक यम बरालले स्पेनको बेनिड्रोम गुञ्जाएका छन् । नेपाल समाज एशोसियसन र एनआरएनए कोष्टाव्लाङ्काले आयोजना गरेको नेपाली नयाँ वर्ष २०८२ सांस्कृतिक कार्यक्रम मा उनले विगतका चोटहरु भुल्न समेत सुझाए ।
स्टेज उक्लिँदा ताली पाएका उनले निष्ठुरीले छाडेर गइहाली, गीत गाउँदा सबैमा सन्नाटा छायो । वियोगान्त गीतले दर्शक धेरै शान्त बने । गायक यम बरालले यो गीतलाई स्टेजमा कहिल्यै छुटाउँदैनन् । नयाँ वर्षको शुभकामना दिँदै उनले भने, ‘हरेक वर्षमा रसिलो, फुर्तिलो बन्नुस्’।
उनले पुराना गीतहरु सम्झिन थाले । अब चोटहरुले पिरोल्दैन मलाई फिल्मी गीत गाए । नायक राजेश हमाल अभिनित पुरानो फिल्म ञअल्लारेझमा समावेश यो गीतले धेरैलाई रुवाउँछ । यो गीतको सुटिङमा राजेश हमाल धरधरी रोएका थिए । बिना ग्ल्सिरिन रोएर अभिनय गरेका थिए । राजेश हमालले भनेको कुरा यमले सुनाए, यो गीतले मन नै छोइदियो ।
त्यसपछि बिस्तारै माहोल मोडिन थाल्यो । होष्ट सन्तोष अर्यालले ताली खोजे । यमले आफूलाई जन्माउने-चिनाउने इलामबारे गीत गाए । बादलुको घुम्टोले इलाम बजार छोपिँदा गीत सुरु हुँदा ताली बज्न थाल्यो । हुटिङ चल्यो । हेर हेर पूर्वबाट झुल्किएछ घाम मुस्कान फिल्मको गीतमा दर्शक नाच्न थाले ।
त्यसपछि उनले डान्सिङ गीतहरु गाए । माया बस्यो मुटुमाझ, ‘सनम माया लाको’ जस्ता गीतहरुले माहोल तताए । गायक यमले भने, ‘अब नयाँ वर्ष भरि हाँस्नुपर्छ, पीर-चिन्ता लिनुहुन्न’।
एनआरएनए कोष्टाब्लाङ्का अध्यक्ष सुरेस बज्राचार्यले नयाँ वर्षलाई नाच्दै रमाउँदै स्वागत गरिएको बताए । नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्का अध्यक्ष केसरबहादुर थापाले नेपालीहरुबीच सद्भाव, मित्रता बढाउन कार्यक्रम गरिएको बताए । समाजका सचिव असिम लोप्चनले गायक यम बरालले पुराना दिनहरु सम्झाउँदा नयाँ वर्षको उर्जा थपेको बताए । सांस्कृतिक कार्यक्रममा अर्पना तामाङ, ममता जोल्मीलगायतले नृत्य प्रस्तुत गरे । समाजका उपाध्यक्ष डा.सविता पाठकले नयाँ वर्ष सबैका लागि उमंग र सफलताको वर्ष बन्ने अपेक्षा गरिन् ।