विचार/ब्लग

कलेज पढ्दै, लोकसेवा लड्दै

Banner

कृष्ण राउत

हिँड्ने मान्छे गन्तव्यमा पुग्छ, आज नभए भोलि । सम्भवत १८ वर्षकै उमेरमा नेपालको सरकारी जागिर खाने मनस्थिति पछिल्ला युवा पुस्ताहरुमा शायदै होला । यदि यही उमेरमा कसैलाई विदेश जाँऊ भन्ने हो भने हाम्रा कानहरु ठाडा हुन सक्छन्, शायद अनुहारहरु उज्याला हुन्छन् । तर यदि १२ कक्षाको परीक्षा दिएसँगै तिमी नेपालमै बस, लोकसेवा तथा अन्य कुनै नेपालको सरकारी जागिरको तयारी गर्दै गर, परीक्षाहरूमा सामेल हुदै जाऊ भन्ने हो भने हाम्रा अनुहारहरु निन्याउरो हुन्छन् । निधार खुम्चन्छ, उस्तै पर्दा टाउको दुखेर चिट्चिट् पनि हुन्छ ।

आजकल कक्षा १२ पढेको विद्यार्थी यहाँ थप अध्ययन गर्ने सोच्नै छाडेको छ । उसले सके ठुलै देश ताक्छ नसके खाडी नै भए पनि उड्ने सोच राख्छ ।नेपालमा पढ्ने, यहाँ जागिर गर्ने, व्यवसाय गर्ने मानसिकता नै क्षीण हुदै गएको देखिन्छ । जसको कारण कलेजमा स्नातक अनि स्नातकोत्तर पढ्ने विद्यार्थीहरुको सङ्ख्या नै निकै न्यून भएको भन्ने खबरहरु यदाकदा सुनिन्छन्।

नेपालमा केही पनि छैन, केही पनि हुँदैन भन्ने मानसिकता पछिल्ला पढेलेखेका युवा पुस्ताहरुमा मौलाउदै गैरहेको छ ।वल्लोघर अनि पल्लो घरका छरछिमेकमा यसो हेर्यो भने फलानो त्यो देश गयो रे यति कमायो रे उति पठायो रे घर घडेरी जोड्यो रे गाँडी चढ्यो रे विदेशमै घर पनि किन्यो रे यस्तै यस्तै कुराहरु हाम्रा टोल अनि छरछिमेकमा चिया गफ बनेका छन् । देखासिकी गर्दा गर्दै गाउँटोल अनि शहरमा सुस्तता छाएको छ ।

तर कतिले भने सानै उमेरमा आफ्नो सही बाटो रोजेका छन् । हामी विद्यार्थीहरुले कलेज पढ्दै तथा लोकसेवाका विज्ञापनहरुमा पनि चासो दिदै, कलेजको पढाइ सक्दा नसक्दै सरकारी जागिरे भएका कयौ आफ्ना साथीहरुको उदाहरणहरु देखेर पनि नदेखे जस्तै थाहा पाएर पनि थाहाँ नपाए जस्तै गर्ने गरेका छौ । आखिरीमा १२ कक्षा पास गरेपछि कि त स्नातक पढ्दै गर्दाका अबस्थामा यस्ता क्षेत्रमा लागि पर्ने हो हो भने स्वदेशमै सुन्दर सपना अनि भविष्य फुलाउन र फलाउन सकिदो रहेछ । यसै विचमा आफुले आफैलाई बुझेर अर्घाखाँचीका विशाल घिमिरेले कक्षा १२मा उत्तिर्ण भए लगतै व्याचलर पढ्दै गर्दा १८ वर्षकै उमेरमा नायब सुब्बामा नाम निकाल्न सफल भए ।

अर्घाखाँचीको पाणिनि–५, मैदानमा जन्मिएका १८ वर्षीय युवा नायब सुब्बा विशाल घिमिरे  लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मा कार्यरत उनी जिल्लामै कान्छा वडा सचिव पनि बने। सानैदेखि सरकारी जागिरे बन्ने रुचिअनुसार लोकसेवातर्फ आकर्षित बनेका उनी छिटै उपसचिव बनेर देशको सेवा गर्ने चाहना रहेको बताउँछन् । उनी अहिले कलेज पनि पढ्दैछन् र लोकसेवाको तयारी पनि गरिरहेका छन् । २३ वर्षमा शाखाअधिकृत र त्यसपछि क्रमशः पद बढाउँदै लैजाने र भविष्यमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने चाहना उनको रहेको छ ।

प्रायः कक्षामा प्रथम भइरहने गुल्मीकी १९ वर्षीया दिपा गैरेलाई शिक्षकहरूले नै सल्लाह दिन्थे, ‘तिम्रो सम्झन सक्ने क्षमता राम्रो छ, मिहिनेती पनि छौ, दायाँबायाँ नसोचीकन सरकारी सेवामा जाने गरी तयारी गर ।’ उनी गाउँकै विद्यालयमा कक्षा १२ सम्मको अध्ययन सकेपछि शिक्षकहरूको सल्लाह बमोजिम नै सरकारी सेवाको सपना लिएर चितवन आइन् तयारीमा जुटिन र सरकारी जागिरमा सफल पनि भइन् । त्यसैगरी गुल्मीको धुर्कोट गाउँपालिका–६ की अनिता खवासले पनि १९ वर्षकै उमेरमा नायब सुब्वामा नाम निकालिन् । उनी हाल देशको मुख्यसचिव बन्ने योजनामा रहेकी छिन् ।

बारा निजगढ निबासी ममता पौडेल अध्ययनको सिलसिलामा चितवन आएकी थिइन् । व्याचलर प्रथम वर्षमा कलेज पढ्दा उनी तल्ला कक्षाका विद्यार्थीहरुलाई ट्युसन पनि पढाउथिन्। त्यसबाट बचेको समयमा उनले लोकसेवाको तयारी गरिन् । यसैविचमा उनी हेटौडाबाट ‌संघिय खरिदारमा १ नम्बरमै सिफारिस पनि भइन् । उनी हाल चितवनको जिल्ला प्रशासन कार्यलयमा कार्यरत रहेकी छिन् र शाखाअधिकृतको तयारीमा हाल जुटिरहेकी पनि छिन् । भरतपुर १० चितवनका विज्ञान आचार्यलाई अमेरिकामा बस्ने मामाले आफुकहाँ आउन पटक पटक बोलाए पनि उनी गएनन् । म यही एक दुई पटक लोकसेवा दिन्छु भन्दै तयारीमा जुटे । नभन्दै १९ वर्षकै उमेरमा उनी पनि गण्डकी प्रदेशको चौथो तहमा सिफारिश भए ।

व्याचलरको पढाइ सकेर खाली समयमा के गर्ने होला भनेर लोकसेवाको तयारीमा लागेकी भरतपुर २ चितवनकी अन्जली तामाङले ख्याल ख्यालैमा तिन चार महिनाको तयारी मै गण्डकी प्रदेशको चौथो तहमा नाम निकालिन् र सिफारिस पनि भइन । हाल उनि अर्को वर्ष संघिय शाखाअधिकृतका लागि तयारी गरिरहेको बताउछिन् । चन्द्रनगर गाउपालिका–१ किसनपुर सर्लाहीकी रानी कुमारी गुप्ता एसईई दिएपछि नै लोकसेवाको तयारीमा जुटेकी छिन् । हाल नारायणी नमूना माविमा कक्षा ११ मा पढ्दै गरेकी रानीलाई लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र हाकिमचोकले मेहनती र अनुशासित भएको हुदा निशुल्क रुपमै पढाइरहेको पनि छ। १८ वर्ष उमेर पुरा हुदासाथ खरिदारमा फर्म भरी लोकसेवा दिने र सफल हुने सोच उनले राखेकी छन् ।

आखिर आफ्नो देशमा सुरक्षित भविष्य नदेखेर विदेश गइरहेका हामीहरु अर्काको देशमाचाही भविष्य सुरक्षित छ भन्ने आधारहरु के चाही देख्दै छौ त । त्यहा पनि कयौ अनिश्चिताहरु र कयौ जोखिमहरु रहेका छन् ।

नेपालमा केही पनि गर्न सिकिएन भनेर निराश सहित विदेशिने हामीहरु त्यहाँ गएपछि चाही विना संघर्षले प्रगति गर्न सकौला त रु संसारमा कुनै त्यस्तो ठाँउ छैन जहाँ कुनै मेहनत नै गर्नु नपरोस् जहाँ कुनै जोखिम नै मोल्नु नपरोस्। विदेशी भूमिका पछिको भविष्य सम्झेर जतिपनि र जस्तो सुकै पनि संघर्ष गर्न र जस्तो सुकै पनि काम गर्न तयार हुने हामीहरु आफ्नो देशमा किन तयार भएनौ यसका पनि आ आफ्नै तर्कहरु होलान्।जसले जे जे भने पनि हामीहरु आफ्नो देशमा केही संघर्ष गर्न र केही आशासहितको सम्भावनाका ढोकाहरु खोल्न भने पछि परेकै हौ र हामीले आफ्नो देशलाई विस्तारै अलि बढी उपेक्षा गरिरहेकै छौ ।

अब भने यो हाम्रो आफैप्रतिको उपेक्षा अनि अल्मल्ताबाट अलि माथि उठौ । विदेशप्रतिको बढ्दो मोहलाई अलिकति कम गरौ ।कलेजको पढाइ सकुला अनि जागिरका लागि लोकसेवा तथा अन्य आयोगको तयारी गरौला भन्ने सोचलाई बदल्दै हाम्रा आफैप्रतिको जिम्मेवारी अनि घर परिवार प्रतिको जिम्मेवारी कम भएकै बेला कलेजको पढाइसँगसगै अब आयोगका तयारीहरुमा पनि पो लाग्न सकिन्छ की ? किनकी निजी कम्पनीमा जतिसुकै इमानदार भई काम गर्दा पनि भविष्यको कुनै ग्यारेन्टी छैन। व्यापारबाट जातिसुकै सम्पत्ति कमाएको भए पनि सम्मान सहितको इज्जत मिलेको देखिदैन । विदेशमा गएर जति नै धेरै पैसा कमाएर ल्याएपनि समाजमा प्रतिष्ठित भएर बाच्न सकिएको छैन । त्यसैले कलेज पढ्दै गर्दा लोकसेवा र यस्तै अन्य आयोगका तयारीमा जुटेर हेरौँ, लागेर हेरौँ, हिँड्दा कसो नपुगिएला । हिँड्ने मान्छे गन्तव्यमा पुग्छ, आज नभए भोलि ।

लेखक राउत लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र हाकिमचोकका सञ्चालक पनि हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area