Breaking News
प्रेमिल जोडी नचाउन सौराहा फुड फेस्टिबलमा आज यी कलाकार आउँदै

चितवन, फागुन २-
आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । प्रेमिल जोडीहरुको लागि आज विशेष दिन हो । प्रणय दिवसको अवसरमा सौराहामा जारी १९औैं फुड फेस्टिबलमा आज पनि विभिन्न राष्ट्रिय कलाकारहरु आउँदै छन् ।
प्रेमिल जोडीहरुलाई नचाउन आज प्रमोद खरेल, अर्जुन सापकोटा, मञ्जु पौडेल, शान्तिश्री परियार र परम्परा व्याण्ड आउँदै छ । त्यस्तै, रत्ननगर कला मन्दिरका कलाकारको प्रस्तुती सँगै विभिन खेलकुद प्रतियोगिताहरु रहेको फुड फेस्टिबल आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा (रेवान)का महासचिव नविन नेपालले बताए ।
माघ २९ गतेदेखि सुरु भएको फुड फेस्टिबल भोलि सम्पन्न हुँदै छ । फुड फेस्टिबल अन्तर्गत प्रथम रेवान कप महिला फुटबल प्रतियोगिता पनि जारी छ । उक्त प्रतियोगिता भोलि सम्पन्न हुनेछ ।
प्रणय दिवसको अवसर पारेर हरेक वर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ । चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बसपार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा फेस्टिवल भइरहेको छ । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृतिरभेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, प्रवेश टिकटबाट भएको आम्दानीले यस वर्ष पनि सौराहाको पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको अध्यक्ष गिरीले बताए ।
९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिबल अबधिभर सौराहा क्षेत्र भित्र कार्यक्रम अवधिभर अनुमानित ३ करोड रुपैयाँसम्म कारोबार हुने अपेक्षा गरिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समुह, क्षेत्रीय होटल संघ सौराहा र युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबल अबधिभर सौराहाका व्यसायीहरुले आवास र खानामा १० प्रतिशत छुट सुविधा दिएका छन् ।