चितवन विशेष
लंकुमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु

चितवन, फागुन २-
भरतपुर–४ लंकूस्थित हरिकीर्तन धार्मिक संस्था/लक्ष्मीवेङ्कटेश मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बिहीवारदेखि सुरु भएको छ । महायज्ञको शान्तिधाम, काभ्रेस्थलीका पीठाधीश चतुर्भुजाचार्य ‘चूडामणि स्वामी’ले दीपप्रज्वलन गरी उद्घाटन गरेका हुन् ।
कार्यक्रममा लक्ष्मीनारायण मन्दिर देवघाटका पीठाधीश श्रीधराचार्य, शेषलक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी पद्मनाभाचार्य, सुमधुर कथावाचिका यशोदादेवी माता, पूर्वमन्त्री एवम् सांसद विक्रम पाण्डे, वागमती प्रदेशका पूर्व मन्त्री विजय सुवेदी, वागमती प्रदेशका सांसद उत्तम जोशी, भरतपुर–४ का वडाध्यक्ष अर्पण पोखरेल, एनआरएनएका उप–महासचिव सोम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
मूल समितिका संयोजक टीकाराम कंडेलको स्वागत मन्तव्य तथा श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)का विद्यार्थीहरूको स्वस्तिवाचन र ६ वर्षीया बालिका अग्रता सापकोटाको पौराणिक मङ्गलाचरणका साथ आरम्भ भएको कार्यक्रम संस्थाका अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन मूल समितिका सह–संयोजक फूलनाथ निउरेले गरेका थिए ।
महायज्ञको उद्घाटन हुनुअघि विभिन्न धार्मिक, सामाजिक, शैक्षिक संस्थाहरू, महिला समूह लगायत विभिन्न संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर, ओमकार झण्डासहितको शोभा–कलशयात्राले अद्वैतचोक–आनन्दचोक–यज्ञपुरी–नवदुर्गा चोक परिक्रमा गर्दै मन्दिरमा पुगेर समापन भएको थियो ।
महायज्ञमा दैनिक रूपमा भगवानको अर्चना, वेद, पुराण लगायत धर्मग्रन्थहरूको पाठ र हवन हुने छ । शालग्राम गुरु आश्रम नाग्लिवाङ्गका नारायणाचार्य/टीकाराम गुरुको प्रधान आचार्यत्व तथा चन्द्रप्रसाद सापकोटाको उपाचार्यत्वमा हुन गइरहेको महायज्ञमा लोकप्रिय कथावाचक स्वामी डा. चक्रपाणि आचार्यले दैनिकरूपमा श्रीमद्भागव प्रवचन गर्नेछन् ।
महायज्ञअन्तर्गत फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान, फागुन ५ गते कमलनयनाचार्य/मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन, संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य/महन्त पदमा पट्टाभिषेक, प्रधान यज्ञाचार्य नारायणाचार्य/टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन एवम् फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको मीडिया संयोजक माधव सापकोटाले जानकारी दिए ।