राजनीति
भूमिसम्बन्धी अध्यादेशलाई लोसपाले पनि साथ नदिने

काठमाडौँ, माघ ३०
जनता समाजवादी पार्टी, नेपालपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि भूमिसम्बन्धी अध्यादेशबाट हात झिकेको छ। अध्यादेशले पूर्णतस् कृषिमा आधारित समुदायलाई त्यसको दायराबाट वञ्चित गराउने भन्दै लोसपाले समर्थन जनाउन नसकिने निर्णय गरेको छ। जसपा नेपालले यसअघि नै उक्त अध्यादेशमा समर्थन नजनाउने निर्णय गरिसकेको छ।
जसपा नेपालपछि लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशबाट हात झिक्दा सरकार थप सङ्कटमा फसेको छ। संसद् अधिवेशन नचलेको बखत ल्याएको छ वटा अध्यादेशमध्ये पाँचवटा भने पास हुने लगभग पक्कापक्की भइसकेको छ। यसमा जसपा नेपाल र लोसपा दुबैले समर्थन गर्न सकिने बताएका छन्। तर, भूमिसम्बन्धी अध्यादेश भने सरकारका लागि ुनिल्नु न ओकल्नुु भएको छ।
सरकार छ वटै अध्यादेश पास गर्न चाहन्छ। त्यसकै लागि विकल्प खोजिरहेको सरकारलाई लोसपाले पनि समर्थन नजनाउने निर्णय गरेसँगै थप सङ्कट परेको हो। अध्यादेश सरकारका लागि प्रतिष्ठाको विषय बन्दै आएको छ।
जसपा नेपालले मात्रै समर्थन नजनाउने निर्णय गरिरहँदा भूमिसम्बन्धी अध्यादेश पास गराउनका लागि सरकारले तीन सिट जुटाए पुग्थ्यो। तर, अब सरकारलाई चार सिट जुटाउनुपर्ने बाध्यता आइलागेको छ। राष्ट्रिय सभामा लोसपासँग एक सिट छ। जसपा नेपालसँग तीन सिट छ। तर, उनीहरू दुबैले समर्थन नजनाउने भएपछि सरकारले चार सिट जुटाउनुपर्ने भएको छ।