पत्रपत्रिका
१२ अर्बको ठेक्का लिन राहदानी सफ्टवेयरमा गडबडी
काठमाडौं, मंसिर १६-
सर्वसाधारणले गत साता राहदानी (पासपोर्ट)को अनलाइन फाराम भर्नेदेखि लिएर अन्य सेवा लिन सकेनन्। सफ्टवेयर प्रणालीमा छिरेर ह्याकरले आक्रमण गरेको र भाइरस पसेको कारण देखाउँदै एक साता पासपोर्ट सेवा अवरुद्ध गरिँदा सर्वसाधारणले धेरै सास्ती पाए।
यो समाचार नागरिक दैनिकमा छ, सार्वजनिक भएका समाचार र सूचनालाई आधार मान्ने हो भने गत साताको बिहीबार अकस्मात् राहदानी सेवा अवरुद्ध हुनुमा ह्याकरको आक्रमण र भाइरस संक्रमणलाई कारण देखाइएको थियो। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले निकै प्रयासपछि उक्त सेवा सञ्चालन गर्न सफल भएको जनाएको छ।
विभागले बिहीबार सूचना जारी गरेर शुक्रबारबाट सबै जिल्लामा राहदानीको काम हुने जनाएको थियो। विभागका अनुसार विभागसहित सबै जिल्ला र नियोगका २०१ युनिटबाट शुक्रबारदेखि राहदानीको काम पूर्ववत् रूपमा सुरु भएको छ।
ई–पासपोर्ट छपाइका लागि करिब १२ अर्बको टेन्डर सूचना आउने समय नजिकिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले नै प्राविधिक समस्या खडा गरेको, ह्याकरका नाममा सफ्टवेयर प्रणाली अवरुद्ध पारेको स्रोतको दाबी छ।
‘एक सातादेखि प्राविधिक समस्या खडा गर्ने, ह्याकरबाट भएको भनी सूचना प्रवाह गर्ने, भाइरस पस्यो भन्ने तर टेन्डरको सूचना निस्कनु दुई दिनअघि समस्या सुल्झाउने दिशामा लाग्नु नै शंकास्पद छ,’ सरकारका एक कम्प्युटर इन्जिनियरले भने। ती इन्जिनियरका अनुसार बिहीबार राहदानी विभागले प्रकाशन गरेको टेन्डर नोटिस आइडिमिया अनुकूल आएपछि मात्रै सफ्टवेयर प्रणालीमा देखिएको समस्या अन्त्य भएको हो।
डेढ दशकदेखि नेपालको राहदानी छपाइ र सफ्टवेयर व्यवस्थापनमा एकछत्र राज गर्दै आएको आइडिमियाले नयाँ टेन्डर पनि लिन अनेक तिकडम गरेको स्रोतको दाबी छ। यसअघि नै टेन्डरभन्दा पनि भेरिएसनबाट धेरै छपाइ गरेर नाफा बढाएको कम्पनीले नयाँ टेन्डर हत्याउन राहदानी विभागको सफ्टवेयर प्रणालीमै समस्या देखाएर अनुकूल प्रभाव पारेको स्रोतको दाबी छ।