Breaking News
बाल्यावस्थामै उत्कृष्ट क्रिकेट खेल्दै गैँडाकोटकी बिदान्सी, राष्ट्रिय खेलाडि बन्ने छ लक्ष्य
निरुता बि.क,
चितवन, मंसिर १४-
नवलपुरको गैँडाकोट-२ की बिदान्सी बुढाथोकी नौ वर्षकी भइन् । सानै उमेरमा उनले पढाइसँगै क्रिकेटलाई उत्तिकै लगाव दिने गरेकी छिन् ।
कक्षा चारमा पढ्ने उनी तीन वर्षको उमेरदेखि नै क्रिकेट सिक्दै र खेल्दै आएकी छिन् । उनले राम्रोसँग क्रिकेट सिकेको छ वर्ष जति भयो । राष्ट्रिय खेलाडी बन्ने सपना बोकेकी बिन्दासीको खेल्ने शैली सिनियर खेलाडीको भन्दा कम छैन ।
क्रिकेटप्रतिको लगाबका कारण उनको खेल सबैले मन पराउने गर्छन् । उनलाई क्रिकेटप्रति रुचि जगाउनुमा आफ्ना बुबाको निकै ठूलो योगदान छ । बिदान्सीको बुबा विजय बुढाथोकी पेसाले खेलकुद शिक्षक हुनुहुन्छ । सानो छँदा खेलाडी बनेर देशको लागि खेल्ने विजयको सपना थियो ।
खेलप्रति रुचि हुँदाहुँदै पनि उहाँको जीवनमा आएका विभिन्न बाधा अवरोधका कारण यस क्षेत्रमा लामो समयसम्म लाग्न सक्नुभएन । उहाँको पनि सानैदेखिको सपना थियो राष्ट्रिय खेलाडी बन्ने । आफ्नो सपना पूरा हुन नपाए पनि आफ्ना सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने सपना उहाँले देख्नुभयो । यही सपनालाई पछ्याउँदै उहाँले अहिले बिदान्सीलाई नियमित क्रिकेट सिकाउँदै आउनुभएको छ ।
विजय अहिले कन्टिनेन्टल बोर्डिङ स्कुल गैँडाकोटको खेलकुद शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँले बिदान्सीलाई क्रिकेट सिकाउनको लागि दिनको दुई घण्टा समय छुट्टाउनुभएको छ । आफ्नो योजनामा छोरीले खेलेर साथ दिँदा धेरै खुसी लाग्ने गरेको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिला छोरीलाई खेल सिकाउँदा एक्लै संघर्ष गरे जस्तो लाग्थ्यो । अहिले दुई वर्षदेखि चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले साथ दिँदै आउनुभएको छ ।’ हाम्रो समाजमा छोरीलाई खेलाडी बनाउन निकै गाह्रो हुने गरेको उहाँको अनुभव छ । समाजमा विभिन्न थरी कुरा भए पनि आफू सधैं सकारात्मक रहेको भन्दै उहाँले आफ्नो लक्षतर्फ अघि बढिरहने अठोट गर्नुभयो ।
उहाँले बिदान्सीको खेल्नेशैली, खेल प्रतिको लगाव देखेर नेपालको राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य कृतिका मरासिनीले बिदान्सीलाई सम्मान गरेर ब्याट उपहार दिइएको सुनाउनुभयो । विगतमा खेलकुद क्षेत्रमा महिलाको सहभागिता कम थियो । खेल्न इच्छा भएता पनि उपयुक्त नीति नियम नहुँदा, समाजले हेर्ने दृष्टिकोणका कारण खेलकुदमा महिलाको सहभागिता कम थियो । तर पछिल्लो केही वर्षयता खेलप्रति आकर्षण बढ्नुका साथै सरकारको भूमिका पनि उल्लेखनीय छ ।
खेलकुदको क्षेत्रमा उपयुक्त नीति नियम निर्माण भएको छ । जसको प्रभाव आम मानिसमा खेल्नुपर्छ भन्ने चेतनाको विकास भएको छ । पहिला त परिवार नै सकारात्मक हुनुपर्ने बुढाथोकी बताउनुहुन्छ । बालबालिकालाई सानै उमेरदेखिनै उनीहरुको क्षमता अनुसार अवसर दिइयो भने जुनसुकै क्षेत्रमा सफलता पाउन सकिने उहाँको विश्वास रहेको छ ।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्ने बिदान्सीलाई क्रिकेट खेल्दा धेरैै नै रमाइलो लाग्ने गरेको छ । ‘मेरो बाबाको सपना छ मलाई राष्ट्रिय क्रिकेट खेलाडी बनाउने’ बिदान्सीले भन्नुभयो, ‘त्यही भएर मेरो पनि सपना छ राष्ट्रिय खेलाडी बन्ने ।’ भविष्यमा बिदान्सीले नेपाली राष्ट्रिय टिममा क्रिकेट खेल्ने विश्वास क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पियाको रहेको छ ।
क्रिकेटर सचिन तेन्दुकर जसरी १६ वर्षमा क्रिकेट क्षेत्रमा प्रवेश गरेका थिए त्यसरी नै बिदान्सी पनि क्रिकेट क्षेत्रमा उदाउने अध्यक्ष पियाको भनाइ छ । उहाँले भन्नुभयो, ‘बिदान्सी अलराउण्डर हुन् । उनको ब्याटिङ धेरै नै राम्रो छ । भनिन्छ नि हुने बिरुवाको चिल्लो पात, बिदान्सीलाई भन्न सकिन्छ । उनमा अनुभवी खेलाडीले खेल्ने जस्तो प्रतिभा छ ।’ उहाँले बिदान्सी नेपालको राम्रो स्टार भएर आउने बताउनुभयो ।
संघले यस्ता उदयमान खेलाडीलाई खेल्नको लागि प्रोत्साहन गर्दै आएको उहाँ बताउनुहुन्छ । जसरी बिदान्सीको बुबाले बिदान्सीलाई खेल खेल्नको लागि साथ दिनुहुन्छ त्यसरी नै हरेक बुबा आमाले आफ्नो बालबालिकालाई खेल्न प्रोत्साहन गरे खेलकुदमा सहभागिता उल्लेख्य रहने उहाँको भनाइ छ । पारिवारिक वातावरणले बच्चालाई खेल्नको लागि प्रोत्साहन गर्दछ । खेलकुदले ड्रग्सबाट टाढा राख्छ । स्वास्थ्य पनि राम्रो हुने मानसिक विकास पनि हुने अध्यक्ष पियाको भनाइ छ ।
महिला क्रिकेटमा नेपालमा धेरै सम्भावना भएको भन्दै उहाँले क्रिकेटमा महिलाको सहभागिता पनि बढ्ँदै गएको बताउनुभयो । राज्यको लगानीअनुसार फुटबलको तुलनामा क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा ठूलो छलाङ मारिसकेको उहाँको भनाइ छ । व्यक्तिगत रूपमा खेलाडीहरूले समेत देशविदेशमा आफ्नो मात्र नभइ नेपालकै चर्चा चलाइसकेका छन् ।
क्रिकेटमा नेपालले छोटो समयमा प्राप्त गरेको सफलता र नेपाली दर्शकहरुको क्रिकेटप्रतिको मोहलाई देखेर क्रिकेट परिवेशसँग आबद्ध व्यक्तिहरु विभिन्न कोणबाट नेपालको क्रिकेटसँग जोडिने क्रम जारी छ । नेपाली टोलीका खेलाडीको खेल हेरेर धेरै युवा तथा बालबालिका क्रिकेटतर्फ आकर्षित हुने गरेका छन् । क्रिकेटमा करिअर बनाउने सपना धेरैले देख्छन् । तर, सही मार्गदर्शन र प्रशिक्षणको कमीका कारण धेरैको सपना अधुरै रहन्छ ।
राम्रो क्रिकेटर बन्नका लागि ब्याटिङ, बलिङ, फिल्डिङ र विकेट किपिङ अर्थात् अलराउन्ड सीप जरुरी छ । राम्रो क्रिकेट खेलाडी बन्नका लागि समय लाग्छ । पर्याप्त अभ्यास चाहिन्छ । अभ्यासले नै बालबालिकाहरूको क्षमता अभिवृद्धि हुन्छ र उनीहरू व्यावासायिक क्रिकेटर बन्ने बाटोमा अघि बढ्छन् । त्यसैले स्कुले जीवनदेखि नै क्रिकेट सिक्नु राम्रो हुन्छ । आफ्ना बच्चालाई व्यावसायिक क्रिकेटर बनाउन चाहाने अभिभावकले केही कुरा ख्याल गर्न जरुरी हुन्छ । बच्चाले एउटा लक्ष्य तय गर्नुपर्छ र पूरै एकाग्रतासहित त्यसलाई हासिल गर्नका लागि मिहिनेत गर्नुपर्छ ।