खैरहनी
आफ्नै बजेटबाट खैरहनी वडा नं.२ ले दियो स्कुललाई बस
चितवन, कार्तिक २६–
चितवनको खैरहनी नगरपालिका वडा नं.२ ले श्री राष्ट्रिय आधारभूत विद्यालय पटिहानीलाई बस सहयोग गरेको छ । सोमबार बिहान एक कार्यक्रमकाबीच वडा अध्यक्ष रोहिणी प्रसाद उप्रेतीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकलाई स्कुल बसको चाबी हस्तान्तरण गर्नुभयो ।
सो क्रममा बोल्दै वडा अध्यक्ष उप्रेतीले सामुदायिक विद्यालयको स्तरवृद्धि गर्ने उद्देश्यले आफ्नै बजेटमा विद्यार्थीका लागि बस सहयोग गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘हामी सामुदायिक विद्यालयबाट राम्रो नतिजा खोज्छौं तर विद्यालयको स्तरवृद्धिमा र विद्यालयको सहजतालाई ध्यान दिर्दैनौं, त्यसैले विद्यालयको महत्वपूर्णकणीको रुपमा इसिडीदेखि कक्षा ५ सम्मलाई मजबुत बनाउन हामीले वडाबाटै बस सहयोग गरेका हौं ।’ उहाँले वडाले विद्यालयलाई बस सहयोग गर्दा पनि बिरोधको आवाज सुनिएको भन्दै यसले थप राम्रो काम गर्न प्रेरणा मिलेको बताउनुभयो ।
श्री राष्ट्रिय आधारभूत विद्यालय पटिहानीलाई वडाले २९ लाख विनियोजन गरेर बस हस्तान्तरण गरेको हो । विद्यालयका प्रधानाध्यापक खिलनाथ न्यौपानेले विद्यालयमा बस उपलब्ध भएसंगै विद्यार्थीको संख्या पनि बढ्ने र स्तरवृद्धि पनि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘गतवर्ष हामीकहाँ ८१ जना मात्रै विद्यार्थी थिए, यसवर्ष भाडामा म्याजिक चलाउन थालेपछि विद्यार्थी संख्या ११४ पुग्यो, अब आफ्नै बस भएपछि विद्यार्थी संख्या अझै बढ्छन् भन्ने विश्वास छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर दाहालले नियमित बस संचालनमा कठिनाई भए पनि सबैको साथ र सहयोगमा बस संचालनलाई स्थायीत्व दिने बताउनुभयो । बस हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तुलसी प्रसाद श्रेष्ठ, समाजसेवी विकास ढुंगाना, बेलराम सापकोटा, पूर्व विद्यार्थी सुरेन्द्र घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम संचालन वडा सचिव सुवास कुवँरलले संचालन गर्नुभएको थियो ।