राजनीति
‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’
गुल्मी, कात्तिक २२-
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रेसुङ्गा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले चार महिनाको अवधिमा सरकारले महत्वपूर्ण कामको थालनी गरेको उल्लेख गर्नुभयो । राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उहाँको भनाइ थियो ।
देशको राष्ट्रिय स्वाधिनता र लोकतन्त्रको रक्षाका लागि सँगै लडेका दुई ठूला पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । पटकपटक सरकार परिवर्तनको खेलले मुलुकमा अस्थीरता बढेको, लोकतन्त्रप्रति जनतामा निरासा पैदा हुँदै जान थालको अवस्थामा मुलुकमा राजनीतिक स्थायित्वका लागि सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।
“एमालेले सत्तामा बस्दा होस् वा प्रतिपक्षमा, चुनाव जित्दा होस् वा हार्दा सधैँ जनताको पक्षमा काम गर्दैआएको छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो । कानुनको नजरमा सबै बराबर भएकाले गल्ती गर्नेलाई सजाय हुने उहाँको भनाइ थियो । एमाले सचिव गोकर्ण विष्टले वर्तमान समयमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्ने र बदनाम गर्ने प्रयत्न भइरहको बताउनुभयो । उहाँले सधैँ नकारात्मकता र निराशाले देश उभो नलाग्ने उल्लेख गर्दै पुराना पार्टीमाथि प्रश्न उठाएर देशमा नयाँ पार्टीले भ्रम पैदा गर्ने काम गरेको आरोप लगाउनुभयो । बलियो जनाधार र दूरदृष्टि भएका पार्टीलाई कमजोर बनाएर मुलुकमा अस्थिरता बढाउने प्रयत्न कदापी सम्भव नहुने सचिव विष्टको भनाइ थियो । रासस