राजनीति

पुण्य गौतममाथि आक्रमण गर्ने दुर्गा प्रसाईंका कार्यकर्ता जेल चलान

Banner

काठमाडौं,कात्तिक २१-

सामाजिक अभियन्ता पुण्य गौतममाथि आक्रमण गर्ने दुईजना ज्यान मार्ने उद्योगमा जेल चलान भएका छन् । काभ्रेपलान्चोक तिमाल घर भई भक्तपुरको च्यामासिहं बस्ने ३० वर्षीय टाँसी लामा भनिने सञ्जीव तामाङ र रसुवा नवकुण्ड गाउँपालिका–५ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने ४१ वर्षीय मिलन भनिने दिलबहादुर गङदान पुर्पक्षको लागि जेल चलान भएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूविरुद्ध पाँच वर्ष जेल सजायको माग दाबी गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसको क्रममा न्यायाधीश उमानाथ गौतमको इजलासले अभियुक्तहरूलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो । अन्तिम फैसला भने अर्को पेशीमा हुनेछ ।

मिलन भनिने दिलबहादुर गङदानले निर्देशन दिएपछि टाँसी लामा भनिने सञ्जीव तामाङले पुण्य गौतमलाई आक्रमण गरेका थिए । उनीहरु ‘भाइरल म्यान दुर्गा प्रसाईं’को अभियानका सदस्य हुन् । उनीहरूविरुद्ध मुद्दा चले पनि दुर्गा प्रसाईंविरुद्ध भने अनुसन्धान भएन । २१ असोजमा भएको आक्रमणमा घटनास्थलमा अभियुक्तको टोपी समेत भेटिएको थियो । साथै प्रहार गरिएको रड समेत बरामद भएको थियो । रडको प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याएका थिए । आइसीयुमा राखेर उपचार भएको उनको टाउकोमा दर्जन बढी टाँका लगाइएको छ ।

प्रहरीसँगका बयानमा टाँसी लामा भनिने सञ्जीव तामाङले मिलन भनिने दिलबहादुर गङदानबाट १० हजार रुपैयाँ अग्रिम पाएको, ४० हजार रुपैयाँ घटना भएपछि पाएको र बाँकी पाउन बाँकी रहेको बताएका छन् । पुन्य गौतमलाई हमला गरेबापत एक लाख रुपैयाँ पाउने सर्त भएकोमा बाँकी पैसा नपाएको भन्दै टाँसी लामा भनिने सञ्जीव तामाङले गुनासो गरेका छन् । उनीहरु दुर्गा प्रसाईंको अभियानका सदस्य भए पनि माथिको आदेशमा घटना नभएको दाबी गरेका छन् । आफैँ मिलेर योजना बनाएको जिकिर गरेका छन् । उनीहरूले अदालतमा भने इन्कारी बयान दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>