राजनीति
संगै नक्कली कर्मचारीको गिरोह जापान गएपछि मन्त्रीले दिए राजीनामा, ६ जना पक्राउ
विराटनगर, कात्तिक २१-
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएको प्रकरण रहस्यमय बन्दै गएको छ । मुख्यमन्त्रीलाई समेत जानकारी नदिई यही कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते नेपाल फर्किएका थिए । उनीसँगै नक्कली कर्मचारी बनेर केही युवा जापान भएको विषय बाहिर आएपछि उनले राजीनामा दिएका हुन् । मन्त्रीसँग अन्य व्यक्तिहरू जापान गएको सूचना पाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार बिहान निवासमै बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए ।
यो प्रकरणमा मन्त्रालयकै कर्मचारी भएर जापान जाने तीन जनासहित ६ जना पक्राउ परेका छन् । जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी वसन्त रजौरेले बताए । उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले बताए ।
अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरेको थियो । अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एसपी काजी आचार्यका अनुसार पक्राउ पर्नेमा रसुवाका कञ्चन देवकोटा र दावा सेर्पा र जनक राई रहेका छन् । सेर्पा र राई खोटाङका हुन् । उनीहरू जापानको एयरपोर्टसम्म पुगेको खुलेको छ । जापान एयरपोर्टबाट भने उनीहरू अन्यत्र जान नपाएका अनुसन्धानमा खटिने प्रहरी अधिकारीहरू बताउँछन् ।
मन्त्री अधिकारीका बारेमा भने एसपी आचार्यले केही खुलाउन चाहेनन् । ‘त्यहाँ जाने तीन जनासँग नक्कली कागजात भएको जानकारी जापान पुलिसलाई प्राप्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने । मन्त्रीसँग कहाँ र कसरी भेट भयो भन्ने विषय नखुलेको उनले बताए । नक्कली कागजात बनाउनेहरूको बारेमा प्रहरीले केही खुलाएको छैन । तीन जनाले नै मन्त्रालयको कार्यालय सहायक पद लेखेको परिचय पत्र बोकेका थिए । उनीहरू मन्त्रालयका कर्मचारी नभएको मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मन्त्री अधिकारी पनि जापानको विमानस्थलबाटै फिर्ता भएका हुन् । राजीनामा दिएपछिको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले जापान जानेमा ठूलो गिरोह रहेको बताए । ठूलै मान्छे पनि फस्छन् भन्ने सूचना आएको छ,उनले भने,यस्तो खेलमा ठूलो गिरोहको संलग्नता हुँदो रहेछ ।
टोकियो महानगरले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी जापान गएका थिए । तर उनी विमानस्थलबाटै फर्किएका बताइएको छ ।