समाचार

दूध आयात गर्ने ओलीको चाहना, कांग्रेस ‘अवरोध’

Banner

काठमाडौं, कात्तिक १३-

सरकारले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको आग्रहअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेका हुन्। प्रधानमन्त्री ओली पनि त्यसका लागि सकारात्मक सत्ता साझेदार नेपाली कांग्रेस सकारात्मक नभएपछि रोकिएको निकट स्रोतको दाबी छ।

कांग्रेसले देशभित्रै दुध तथा दुग्धजन्य पदार्थको मौज्दात अत्यधिक रहेकाले अहिले आयात खोल्न नहुने तर्क गर्दै आएका छन्। कांग्रेस र उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू सकारात्मक भए तत्काल दुध तथा दुग्धजन्य पदार्थको आयात खुल्ने जनाउँदै निकट स्रोतले भन्यो, ‘कांग्रेस तयार नहुँदा प्रस्ताव अघि बढ्न सकेको छैन। प्रस्ताव तयार छ।’

यो समाचार नागरिक दैनिकमा छ, दुग्ध विकास संस्थान (डिडिसी) को तथ्यांकअनुसार झन्डै पाँच सय मेट्रिक टन बटर र ४५० मेट्रिक टन धुलो दुध मौज्दात छ भने देशभरका निजी डेरी उद्योगबाट दुई हजार मेट्रिक टन बटर र १५ सय मेट्रिक टन धुलो दुध मौज्दात छ। नेपाल डेरी एसोसिएसनले आयात खोल्ने योजनाले नेपालमा दुग्ध उत्पादक किसानलाई ठुलो असर पार्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य आपूर्ति मन्त्रालयलाई यो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै आएका छन्।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्र नै दुध तथा दुग्धजन्य पदार्थको उत्पादन अत्यधिक बढेको जनाउँदै २०८० फागुन ३ गतेदेखि त्यस्ता पदार्थको आयात स्थगन गर्ने निर्णय गरेको थियो। मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न निर्देशन दिएको थियो।

त्यसै क्रममा आयात हुँदै आएको चिल्लो हटाइएको दुध (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी), डेरी ह्वाइटनर, मिल्क पाउडरलगायत पैठारीमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो।

त्यस्तै जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेको, नौनी (बटर), घिउको पैठारीमा पनि रोक लगाएको छ। प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज, भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिजको पैठारीमा पूर्ण रोक लगाइको थियो।

दुध तथा दुग्धजन्य पदार्थ आयातमा रोक नलगाउँदा बर्सेनि औसत दुई अर्ब रूपैयाँ बाहिरिने गरेको छ। आव २०७९/८० मा दुई अर्ब २८ करोडको दुध तथा दुग्धपदार्थ आयात भएकामा ३१ करोडको चिज र ६ करोडको बटर आयात भएको उल्लेख छ। आव २०७८/७९ मा एक अर्ब ८१ करोडको दुध तथा दुग्धजन्य पदार्थ आयात भएको छ।

आव २०७७/७८ मा एक अर्ब ६७ करोड र आव २०७६/७७ मा दुई अर्ब तिन करोडको दुग्ध पदार्थ आयात भएको देखिन्छ भने गत साउनयता ३२ करोड ३२ लाख रूपैयाँबराबरको दुग्धजन्य पदार्थ आयात भएको छ। यसमध्ये ठुलो हिस्सा बन्देज नलगाइएको बच्चाको दुध पाउडर आएको छ। बच्चाको दुध पाउडर मात्र ३० करोड २३ लाख रूपैयाँबराबरको आयात भएको छ भने बाँकी चिज, बटर, पाउडर दुधलगायत आयात भएको देखिन्छ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>