चितवन विशेष
चितवनमा आजदेखि मत्स्य तथा मत्स्यपालन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु
चितवन, कार्तिक ७–
चितवनमा मत्स्य तथा मत्स्यपालन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल मत्स्य समाजको आयोजनामा बुधवार देखि भरतपुरमा मत्स्य तथा मत्स्यपालन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छि मन्त्री रामनाथ अधिकारीले गरे ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अधिकारीले सम्मेलनले नेपालको मत्स्य क्षेत्रको दिगो विकासको लागि एक कोशेढुङ्गाको रुपमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल भूपरिवेष्टित राष्ट्र भए तापनि जलस्रोतमा तथा जलिय जैविक विविधतामा धनी भएकोले नेपाली समुदायले जीविको पार्जनको माध्यम बनाउनुपर्ने बताए । नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति गर्न, खाद्य र पोषण सुरक्षाको सुनिश्चितता एवं गरिबी न्यूनीकरणमा मत्स्यपालन क्षेत्रको भूमिका भएका बताएका हुन् ।
नेपालमा मत्स्य पालनमा विभिन्न चुनौती रहेका जनाउँदै उनले भने,‘गुणस्तरीय माछाको उत्पादनमा हामी लाग्नुपर्दछ ।’ नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको देश भएकाले मत्स्यपालन क्षेत्रमा पनि जलवायु परिवर्तनको असरको सामना गर्नुपर्ने अवस्था रहेको बताए ।
मत्स्यपालनले नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा जम्मा ० दशमलब ४४ प्रतिशत योगदान गरे तापनि यो क्षेत्र यस दशकमा कृषि क्षेत्रको सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको उपक्षेत्र रहेको मन्त्री अधिकारीको भनाइ थियो । हालसालै स्वीकृत राष्ट्रिय मत्स्य विकास नीतिले नेपालमा मत्स्य प्रवद्र्धन तथा संरक्षणको लागि आवश्यक रणनीतिक मार्गचित्र तयार गरेको उनले बताए । कृषि विकास रणनीतिले पनि नेपालका कृषि क्षेत्रको विकासका लागि मत्स्यपालनलाई तीन प्रमुख उपक्षेत्र मध्येको एकको रूपमा पहिचान गरेको मन्त्री अधिकारीको भनाइ थियो ।
‘स्वस्थ जनता अर्थतन्त्र र वातावरणका लागि निलो क्रान्ति’ भन्ने मुल नाराका साथ तीन दिने सम्मेलन आयोजना गर्न लागिएको मुल समारोह समिति संयोजक प्राडा सुनिला राईले जानकारी दिईन् ।
सम्मेलनको मुख्य उद्देश्य शिक्षाविद, वैज्ञानिक, नीति निर्माता, व्यवसायी, विद्यार्थी, कृषक र सम्बन्धित अन्यलाई आफ्ना अनुभव, अनुसन्धानका नतिजा तथा असल अभ्यासहरु आदान प्रदान गर्ने रहेको उनले बताईन् । यस सम्मेलनबाट साना र मध्यम स्तरका कृषकहरुलाई लक्षित गरी पर्यावरणमैत्री दिगो मत्स्यपालन, मत्स्य स्वास्थ्य, मत्स्य पोषण र मत्स्य प्रजनन र जलचर व्यवस्थापन लगायतका क्षेत्रहरुमा भएका अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गरीने छ ।
कार्यपत्र भारत, चीन, बंगलादेश, थाइल्याण्ड, हंगेरी, जापन, संयुक्त राज्य अमेरिका, फिलिपन्स, मलेसिया र नेपालका वैज्ञानिकले प्रस्तुत गर्नेछन् । जसमा १ सय ३ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनको अन्तिम दिन सहभागिहरुले अन्नपूर्ण फिस फार्म, बिस हजारी ताल र घडियाल प्रजनन केन्द्रको लागि स्थलगत अध्ययन समेत गर्नेछन् ।
एक सय २१ मौखिक कार्यपत्र र २२ पोष्टर प्रस्तुतिकरण गरिने राईले जानकारी दिए । सम्मेलनमा शिक्षाविद्, वैज्ञानिक, नीति निर्माता, व्यवसायी तथा सम्बन्धित क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विषेशज्ञहरुले आफ्ना अनुभव, प्रविधिको विकास, अनुसन्धान नतिजा तथा असल अभ्यासको ज्ञान आदानप्रदान हुने उनको भनाइ छ ।