खेलकुद

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मेयर दाहालले गरिन् निरीक्षण

Banner

चितवन, असोज २४–

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निरीक्षण गरेकी छन् । दशैंअघिसम्मको कामको प्रगति बुझन मेयर दाहाल रंगशाला परिसर पुगेकी हुन् । सो क्रममा रंगशालामा भइरहेको प्रगति विवरण बारे महानगरका डिभिजन इन्जिनियर सन्तोष आचार्यले जानकारी गराए । महानगरले रंगशालाको निर्माणको कामलाई गति दिन केही प्राविधिकहरु आवासीय रुपमै खटाएको छ ।

रंगशाला निरीक्षण पश्चात प्रतिक्रिया दिँदै मेयर दाहालले दशैंअघिसम्म सन्तोषजनक काम भइरहेको बताइन् । उनले महानगरबाट सबै किसिमको सहयोग रहने भने निर्माणको काममा कुनै अवरोध हुन नदिने बताइन् । उनले दशैं पश्चात अझै तिव्र गतिमा कामलाई अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन समेत दिइन् ।

फुलपातीको दिनसम्ममा रंगशालाको टावर १ को बिमको ढलान सकिएको छ भने टावर २ को ६ वटा फुटिङको ढलान गरिएको छ । दशैं मान्न कामदारहरु घर गएपछि यो बीचमो रंगशालाको थप नयाँ काम हुने छैन । पूर्णीमाको भोलिपल्ट कामदारहरु आएपछि टावर १ मा इट्टाको जोडाईको काम सुरु हुने निर्माण कम्पनी बीबीआरका प्रोजेक्ट म्यानेजर विजय ढकालले जानकारी दिए । रंगशालामा प्याराफिटका ४ वटा स्ट्याण्ड मध्ये स्ट्याण्ड १ र २ को पूर्ण रुपमा पीसीसी ढलान सकिएको छ भने स्ट्याण्ड ३ को ८ र स्ट्याण्डको १० वटा कोठा मात्रै ढलान गर्न बाँकी छ । दशैं पश्चात ती काम पनि सकिने छ ।

यस्तै प्याराफिट उठानका लागि यसअघि नै निर्माण गरिएका पिलरहरुको परीक्षण गर्न बाँकी छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट प्राविधिक टोली आएपछि पिलरको परीक्षण (एक्सरे) गरिने छ । जसबाट पिलरको भित्री भागको अवस्था थाहा हुनेछ । त्यसको रिपोर्ट परीक्षण गरेको एक सातामा आउने छ । त्यसपछि मात्रै प्याराफिट उठाउने काम अघि बढ्ने छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक अभावका कारण रंगशाको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेपछि महानगरको नेतृत्वमा तिनै तहको सरकारले रंगशालाको निर्माण काम पुनः सुरु गरेको हो । संघीय सरकारले यस रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा समेटेको छ भने बागमती प्रदेश सरकारले पनि रंगशालाका लागि प्राथमिकता साथ बजेट विनियोजन गरेको छ । रंगशाला निर्माणको काम करिव २ महिनाअघिदेखि पुनः सुरु भएको हो ।

पहिलो चरणमा रंगशालाको दर्शक क्षमता १५ हजारको बनाईएको छ भने दुई वटा भीआइपी टावर, मैदान र ५ वटा पीच निर्माण गरिने छ । पहिलो चरणको काम सकिएपछि यहाँ अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन मिल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>