खेलकुद
एनपीएलमा देखिनेछन् चितवनका तीन खेलाडी
चितवन, असोज २२–
नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाईज टिमहरुले स्थानीय खेलाडीलाई विशेष प्राथमिकता दिए । अझ भनौं पश्चिम नेपालका फ्रेन्चाईज टिमहरु स्थानीयलाई विशेष प्राथमिकता दिएरै अक्सनमा बोली लगाए । त्यसमा पनि देशको मध्य भागको प्रतिनिधित्व गर्दै गरेको चितवन राइनोजले पनि स्थानीय खेलाडीलाई नै प्राथमिकता दियो ।
चितवनले दुई युवा खेलाडीलाई अक्सनबाट टिममा भित्र्यायो । बलिङ अलराउण्डरद्धय दिपेश श्रेष्ठ र गौतम केसी क्रमशः ५ लाख र २ लाखमा चितवन टिममा जोडिन पुगे । यी दुवै खेलाडी चितवन र बागमती प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेका छन् । दिपेश र गौतम मात्रै होइन चितवनका अर्का युवा ब्याटर प्रतिक श्रेष्ठ पनि नेपाल प्रिमियर लिग खेल्ने भएका छन् । उनलाई काठमाडौं गुर्खाजले २ लाखमा बोली लगाउँदै टिममा भित्र्यायो । प्रतिक पछिल्लो समय बागमती प्रदेशबाट नियमित राष्ट्रिय प्रतियोगिता खेल्दै आइरहेका छन् ।
चितवनमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यले नै स्थानीय खेलाडीलाई एनपीएलमा विशेष रुपमा बोली लगाएको चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपाने बताउँछन् । ‘यो अक्सनबाट हामी धेरै खुशी छौं, दुई जना लोकल प्लेयरहरु पनि हाम्रो साथमा हुनुहुन्छ । चितवनको क्रिकेट विकास गर्ने यो राम्रो टिम बनेको छ ।’–अक्सनपछि आयुष भन्छन् ।
नेपाली राष्ट्रिय यु–१९ टिमको प्रतिनिधित्व गरि सकेका दिपेश पछिल्लोपटक बागमती प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल पुलिस क्लबविरुद्ध खेलेका थिए । त्यसमा एक विकेट लिन सफल भएका थिए । दिपेश बलिङसंगै ब्याटिङमा पनि उत्तिकै रन बनाउन सक्ने खेलाडी हुन् ।
त्यस्तै गौतम केसी राष्ट्रिय टिममा स्थान बनाउन नसकेपछि घरेलु प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । पछिल्लो समय मुलपानीमा भएको राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध गौतमले १८ रन मात्रै खर्चिएर ५ विकेट लिएका थिए । गौतम पछिल्लो समय बलिङसंगै तल्लोक्रमको ब्याटिङमा पनि राम्रो योगदान दिने गरेका छन् ।
पूर्वीचितवनको खैरहनी निवासी प्रतिक नारायणघाटमा बसेर क्रिकेट खेल्दै आइरहेका छन् । राष्ट्रिय टिममा स्थान बनाउन नसकेपनि उनी घरेलु क्रिकेटमा भने छाउँदै आएका छन् । दायाँ हाते ब्याटर प्रतिकले नेपाल आर्मीविरुद्ध बनाएको विष्फोटक अर्धशतक सधै चर्चामा रहने गरेको छ । उनी नेपालको १९ वर्षमुनिको राष्ट्रिय टिममा मौका पाए पनि प्राविधिक कारणले खेल्न टिमसंग जान नपाएपछि राष्ट्रिय टिममा डेब्यु गर्ने सपना तुहिएको थियो ।
एनपीएलमा छनोट भएकोमा चितवन जिल्ला क्रिकेट संघले उनीहरुलाई बधाई दिएको छ । संघका अध्यक्ष सुदिप पियाले एक क्रिकेट प्रतियोगिताको समापन समारोहको क्रममा संगै रहेका तीन जना खेलाडीलाई बधाई दिएका हुन् । उनले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरोस् भन्ने शुभकामना समेत दिए ।
चितवनबाट खेल्दै अन्तर्राष्ट्रियस्तरमै चर्चित भएका एक मात्र खेलाडी हुन् सन्दीप लामिछाने । क्याम्पाचौरमा क्रिकेट सिकेर क्रिकेट करिअर अघि बढाएका सन्दीप राष्ट्रिय टिम हुँदै विश्वका उत्कृष्ट सबै फ्रेन्चाईज लिग खेलिसकेका छन् । त्यसपछि चितवनबाट राष्ट्रिय टिममा अहिलेसम्म कुनै खेलाडी पुग्न सकेका छैनन् । यही अवस्थालाई ध्यानमा राखेर चितवन राइनोजले स्थानीय खेलाडीलाई प्राथमिकतामा दिएर दिपेश र गौतमलाई टिममा त्र्यिाएको हो ।
एनपीएलको अक्सनमा चितवनबाट ५ खेलाडीले नाम दर्ता गराएका थिए । जसमध्ये स्पिनर क्रिजन गुरुङ र नेपालबाट अण्डर १६ राष्ट्रिय टिममा खेलिसकेका ओपनर ब्याटर सूर्यान्शु कोइराला भने अक्सनमा बिक्न सकेनन् ।