भिडियो
‘छक्कापञ्जा ५’ लाई सर्वाधिक शो, ‘१२ गाउँ’ दोस्रो स्थानमा
काठमाडौं, असोज २२-
देशभरका फिल्म हलले फूलपातीबाट प्रदर्शन तयारीमा रहेका फिल्मको अग्रिम टिकट बिक्री थालेका छन् । उक्त मितिमा प्रदर्शन हुन लागेका चार फिल्मको शो पनि बाँडफाँट गरिएको छ ।
मंगलबार दिउँसो १२ बजेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी शो ‘छक्कापञ्जा ५’ ले प्राप्त गरेको छ । दीपाश्री निरौला निर्देशित फिल्मले देशभर २१७ शो पाएको छ । क्यूएफएक्सले यो फिल्मलाई ९४ शो र आईएनआईले १४ शो दिएको छ ।
शो बाँडफाँटमा विराज भट्ट निर्देशित एक्सन फिल्म ‘१२ गाउँ’ दोस्रो स्थानमा छ । यो फिल्मले देशभर १२५ शो प्राप्त गरेको छ । क्यूएफएक्सले यो फिल्मलाई ४९ शो दिंदा, आईएनआईले ८ शो दिएको छ ।
वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ले देशभर ८९ शो पाएको छ । क्यूएफएक्सले यसलाई ४१ शो दिएको छ । आलिया भट्टको बलिउड फिल्म ‘जिग्रा’ले देशभर २९ शो मात्र पाएको छ, जसमध्ये क्यूएफएक्समा मात्रै २३ शो छ ।
बिहीबारका लागि ‘बेहुली फ्रम मेघौली’ले २४ शो मात्र पाएको देखिएको छ । ओपनिङमा सर्वाधिक शो पाएको भनिएको स्वस्तिमा खड्का स्टारर फिल्मको दोस्रो साताको शोमा भारी कटौती देखिन्छ । महत्वपूर्ण कुरा के हो भने शो संख्याभन्दा अकुपेन्सी महत्वपूर्ण हो ।