अन्तर्राष्ट्रिय
भारतमा वर्कलोडका कारण कर्मचारीको मृत्यु पछि बहस सुरु
काठमाडौँ, असाज १०-
भारतमा कामको अत्यधिक चापका कारण एकजना कर्मचारीको मृत्यु भएको विषयमा बहस सुरु भएको छ। भारत महाराष्ट्रको पूणेमा एक निजी कम्पनीमा काम गर्ने २६ वर्षीया अन्ना सेबेस्टियनको गतसाता मृत्यु भएको थियो।
इआरएनएसटी एन्ड योङ्ग नामक कम्पनीमा कार्यरत सेबेस्टियनको मृत्युको कारण कामको अत्यधिक चाप रहेको बताइएको छ। उनी चार्टर एकाउन्टेटको रुपमा काम गर्दै आएकी थिइन्। सेबेस्टियनकी आमाले खुला पत्र लेख्दै छोरीको मृत्युको कारण वर्कलोड रहेको बताइन्।
उनले वर्क लोडका कारण छोरीको मृत्यु भएको आरोप लगाउँदै कम्पनीको तर्फबाट कुनै सहानुभूति नआएको बताइन्। सेबेस्टियनकी आमाले उक्त कम्पनीमा काम गर्न थालेपछि छोरी निकै थकित देखिने र आराम गर्न नपाउने अवस्थामा पुगेको पनि बताइन्। तर, कम्पनीले उक्त आरोपको खण्डन गरेको छ।
कम्पनीले मिहिनेत गर्नका लागि र उत्कृष्ट बन्नका लागि हप्तामा ३५ देखि ४० घन्टा वा सोभन्दा बढी समय पनि काम गर्नुपर्ने र सोही अनुसारको काम अन्नालाई दिइएको बताएको छ।
कम्पनीको उक्त बयान र अन्नाको मृत्यु पछि भारतीयले गर्ने काम र त्यसको चापको विषयमा बसह हुन थालेको छ। भारतमा विशेषगरी सूचना र प्रविधि क्षेत्रमा काम गर्नेले हप्ताको ५० वा सोभन्दा बढी घन्टा काम गर्नु परिरहेको बताइन्छ।
टाइम्स अफ इन्डियाका अनुसार म्याककिन्से नामक एक संस्थाले गत वर्ष विश्वका ३० मुलुकमा गरेको अध्ययन अनुसार भारतका ६० प्रतिशत मानिस कामको चापका कारण अत्यधिक थकित र चिन्तित महसुस गर्ने गरेको पाइएको थियो। त्यसैगरी वर्कलोडका कारण भारतमा प्रत्येक वर्ष २ लाख मानिसको मृत्यु हुने गरेको पनि अध्ययनमा बताइएको थियो।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार भारतमा रोजगारमा रहेका ५१.४ प्रतिशत मानिसले हप्तामा ४९ घन्टा वा त्योभन्दा बढी काम गर्ने गरेका छन्।
त्यस्तै विश्व स्वास्थ्य सङ्गठनर अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार लामो समयसम्म काम गर्ने मानिसमा मृत्युको जोखिम सबैभन्दा बढी हुन्छ। विशेष गरी हप्तामा ३५ देखि ४० घन्टाको तुलनामा ५५ घन्टा वा सोभन्दा बढी समय काम गर्ने मानिसमा मृत्युको जोखिम उच्च हुन्छ। एजेन्सी