देश/प्रदेश

दिप्रुङ चुइचुम्मामा सामाजिक सेवाभाव जगाउन विद्यार्थीलाई ‘झोला उपहार’

Banner

खोटाङ, असोज ७-

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका एक युवा विनोद राईले आफ्नो गाउँपालिकाका सबै विद्यार्थीलाई उपहारस्वरूप झोला वितरण अभियान शुरू गरेका छन्। उनले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालय (४९ वटा) का विद्यार्थीलाई उपहारस्वरूप झोला वितरण अभियान शुरू गरेका हुन्।

उनले हालसम्म चार विद्यालयका तीन सय ५४ विद्यार्थीलाई झोला वितरण गरेका छन्। दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित श्रीदेवी आधारभूत विद्यालय खमारेका ६५, वडा नं–६ छितापोखरीस्थित जनसेवा माध्यमिक विद्यालयका एक सय २९, वडा नं–७ टेम्मास्थित शान्ति माध्यमिक विद्यालयका एक सय ३० र सोही वडाको आदर्श सदन आधारभूत विद्यालयका ३० विद्यार्थीलाई वितरण गरेका हुन्।

राईले सम्बन्धित विद्यालयमै पुगेर उपहारस्वरूप झोला उपलब्ध गराएपछि विद्यार्थीसमेत हर्षित छन्। व्यक्तिगत खर्चमा झोला खरिद गरेर बाल विकास केन्द्रदेखि कक्षा–१० सम्मका विद्यार्थीका लागि वितरण गर्दै आएका राईलाई सम्बन्धित विद्यालयले सम्मान गरेको छ।

झोला अभावमा हातमा किताबकापी बोकेर हिँड्न बाध्य विद्यार्थीलाई लक्षित गर्दै आफ्नो व्यक्तिगत खर्चमा उपहारस्वरूप झोला प्रदान गर्ने अभियान शुरू गरेको उनले बताएका छन्। “सानोमा दुई घण्टा हिंडेर स्कुल धाउनुपर्थ्यो। हातमा किताब बोक्नुपर्ने, साउनको बेला लड्दा खेतमा किताब खसेर भिजेको थियो”, उनले भने, “किताबकापी, डटपेन हराउने समस्या बेहोरेका थियौँ। त्यही विगत सम्झिएर विद्यार्थीलाई झोला वितरण गरेको हुँ।”

विसं २०८४ सालसम्ममा गाउँपालिकाभरका सबै माध्यमिक तहका विद्यालयका छात्रछात्रालाई झोला वितरण गर्ने लक्ष्य रहेको राईले बताए। विद्यार्थीलाई सामाजिक सेवाको भाव जगाउन पनि झोला वितरण अभियान शुरू गरेको उनको भनाइ छ।

आफ्नो कमाइको २० प्रतिशत सामाजिक काममा खर्च गर्ने घोषणा अन्तर्गत विद्यार्थीलाई झोला वितरण गरेको उनले बताए। २०५८ साल मङ्सिर १५ गते जनता माध्यमिक विद्यालय भण्डारीडाँडाको विद्यार्थी सङ्गठनको अध्यक्षबाट राजनीति शुरू गरेका उनी काठमाडौँमा रेष्टुरेन्ट तथा काष्ठकला व्यवसाय चलाउँदै छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला सदस्यसमेत हुन्। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>