चितवन विशेष
न्यौपानेले गरे रक्तदानका क्षेत्रमा नेपालमै पहिलो उत्प्रेरणा पुरस्कार घोषणा
चितवन, असोज ७–
भनिन्छ रक्तदान, जीवनदान । तर रक्तदानका लागि अहिले पनि हारगुहार गर्नुपर्ने बाध्यता छ । यही अवस्थालाई ख्याल गरेर चितवनमा रक्तदानको अभियान चलाईरहेका युवा अभियन्ताहरुले ब्लड डोनर्स सोसाइटी पनि स्थापना गरेका छन् । उनीहरु यही सोसाइटी मार्फत रक्तदानको बारेमा जनचेतना जगाउनुको साथै रक्तदान कार्यक्रम गर्दै आइरहेका छन् ।
यही सोसाइटीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हुन् माडी घर भएका हरिप्रसाद न्यौपाने । लामो समयदेखि रक्तदानको अभियानमा सक्रिय न्यौपानेले नेपालमै पहिलोपटक रक्तदानका लागि अझै प्रोत्साहित गर्न पुरस्कारको घोषणा गरेका छन् । आफ्ना पिताको स्मृतिमा आयोजित बृहत रक्तदान कार्यक्रममा न्यौपानेले रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार घोषणा गरेका हुन् । स्वर्गीय पिता खिमानन्द न्यौपानेको प्रथम स्मृति दिवसमा रक्तदान कार्यक्रम गर्दै अभियन्ता न्यौपानेले १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन्।
प्रत्येक वर्ष त्यसको ब्याजबाट देशभरिमा रक्तदानको क्षेत्रमा कर्म गर्ने अब्बल एकजनालाई वार्षिक रुपमा पुरस्कार वितरण गरिने उनले बताए । ‘यो नौलो पुरस्कार हो, हाम्रो सानो प्रयास पनि हो, यसलाई अझै वृहत बनाउने प्रयासमा छौं, जो कोहीले सहजै रक्तदान गर्ने वातावरण बनाउन पुरस्कारले थप हौसला थप्ने विश्वास छ’–न्यौपानेले भने ।
बुवाको स्मृतिमा गरिएको रक्तदान कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकाल प्रमुख अतिथि रहेका थिए । सोही कार्यक्रममा संविधानसभा सदस्य गुनाखर बस्याल, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, बागमती प्रदेशका पूर्व सांसद कृष्ण भुर्तेल, वरिष्ठ फिजिसियनद्धय डा.भोजराज अधिकारी, डा.प्रतिक न्यौपानेलगायतले रक्तदानको महत्व बारे चर्चा गरेका थिए ।
२०५९ सालबाट रकदान सुरु गरेका हरिप्रसाद न्यौपानेले बुबाको तेह्रौँ दिनको पुण्यतिथिमा समेत रक्तदान गरेका थिए । उनले आफ्नो जन्मदिन आफ्नो वैवाहिक वर्षगाठ लगायतका विभिन्न अभियानमा रक्तदानलाई जोड्दै आएका छन्। विभिन्न सामाजिक क्षेत्रमा सक्रिय न्यौपाने चक्रसिला धाम माडीको उपाध्यक्ष समेत रहेका छन्। सुरुवातबाट नै विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय उनी प्रकृति तथा वातावरण संरक्षण समाजको अध्यक्ष समेत रहेका थिए । न्यौपानेका बुबा खिमानन्द सामाजिक कार्यमा सक्रिय थिए । बुबाकै प्रेरणाबाट आफू रक्तदान अभियानमा सक्रिय बनेको हरि बताउँछन् ।
उक्त रक्तदान कार्यक्रममा १५२ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम ब्लड डोनर्स सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।