समाचार
रास्वपामा अहिले रवि लामिछानेको पापको भारी बोक्ने प्रतिस्पर्धा छः गगन थापा
काठमाडौं, असोज २-
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीबारेमा आफूहरूले यसअघि सार्वजनिक गरेको कुरालाई संसदीय छानबिन विशेष समितिले पुष्टि गरेको दाबी गरेका छन् ।
पार्टी कार्यालय सानेपामा बुधबार आयोजित एक महिने विशेष अभियानको सुरुवात कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । संसदीय छानबिन समिति गठन माग गर्दा कांग्रेसले गरेको आशंका सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिले पुष्टि गरेको बताएका हुन् ।
गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, उक्त मिडियाका तत्कालीन सञ्चालक एवम् प्रवबन्ध निर्देशक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको पनि थापाले बताए । गोर्खा मिडियामा सहकारीको रकम अवैधानिक बाटोबाट लैजानेहरूलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग आफूहरूले राखेको पनि थापाले बताएका छन् ।
संसदीय छानबिन समितिले कांग्रेसले उठाएका सबै विषयलाई सत्यका रुपमा पुष्टि गरिदिएको महामन्त्री थापाले बताए । गोर्खा मिडियाले पोखरा, भरतपुर, बुटवल र काठमाडौंका ५ वटा सहकारीबाट करोडौँ रकम गैरकानुनी रूपमा लगेको पनि पुष्टि भएको उनले बताए ।