चितवन विशेष

भरतपुरको शहरी क्षेत्रमै देखिन थाले बाघ, स्थानीय त्रसित

Banner

चितवन, असोज २-

पछिल्लो समय भरतपुर महानगरको शहरी क्षेत्रमा जंगली जनावर बाघ देखिन थालेका छन् । शहरी क्षेत्रमै बाघले मान्छेलाई आक्रमण गरी घाइते बनाउनेदेखि घरपालुवा जनावरलाई आक्रमण गरी मारेका घटनाहरु बाहिर आएका छन् ।

भरतपुर–७ मा भदौ ३१ गते दिउँसै बाघ जस्तो देखिने जनावर भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् । भरतपुर–७ को विशाल टोल, मर्स्याङ्दी टोल, सुन्टल टोल आसपासमा पटक–पटक बाघ देखिएको भन्दै उक्त बाघलाई नियन्त्रणमा लिन वडा कार्यालयले डिभिजन वन कार्यालयलाई पत्राचार गरेको छ ।

स्थानीय बासिन्दाहरु घरबाहिर हिँडडुल गर्न समेत त्रसित भएको भन्दै उक्त बाघलाई तत्कालन नियन्त्रणमा लिन वडा कार्यालयले हिजो (मंगलवार) पत्राचार गरेको हो ।

डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार भरतपुर–७ मा देखिएको जनावर चितुवा भएको आशंका गरिएको छ । चितुवाको खोजी गर्न मंगलवार गएको वनको टोलीले फेला पार्न नसकेको उनले बताए । ‘मंगलवार हाम्रो टोली गएको थियो । देखिएन भनेर उहाँहरु फर्किनुभयो । स्थानीयले खिचेको भिडियो हेर्दा चितुवा हो कि जस्तो देखिन्छ’, उनले भने ।

भरतपुर–१ को नारायणगढ, ठिमुरा र आँपटारी क्षेत्रमा पनि बाघले आतंक मच्चाएको छ । विद्यालय जाने ठिमुराका बालबालिकाहरुलाई स्कटिङ गरेर लैजानुपर्ने अवस्था छ । बाघले यहाँ भदौ १३ गते एउटै घरका छ वटा बाख्रा मारेको थियो । ठिमुराबाट जंगल छिचोलेर रामनगर माध्यमिक विद्यालय जाने विद्यार्थीलाई बाघले आक्रमण गर्न सक्ने जोखिम छ ।

यसअघि साउन २० गते नारायणगढस्थित नारायणी नदी किनारमा मर्निङवाक गर्न गएका एक व्यक्तिलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । उक्त बाघलाई नियन्त्रणमा लिई निकुञ्जमा छाडिएको हो । भरतपुर–११ मा पनि बाघको आतंक रहेको स्थानीयहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>