अन्तर्राष्ट्रिय
गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु
गाजापट्टी, भदौ २९-
गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ ।
“पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ”, विभागकाका प्रवक्ता महमुद बस्सलले बताउनुभयो ।
गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उहाँले बताउनुभयो । “उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्”, बस्सलले भन्नुभयो ।
इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन । बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तिमा १० जनाको मृत्यु भएको बताउनुभएको छ ।
उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभएको छ ।
त्यसैगरी, दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ । रासस/एएफपी
फाइल तस्बिर