चितवन विशेष

वातावरण संरक्षणका लागि चितवनका संघसंस्थालाई तालिम

Banner

चितवन, भदौ २९-

चितवनमा वातावरण संरक्षण र सामाजिक सुरक्षाका लागि विभिन्न संघसंस्थालाई तालिम प्रदान गरिएको छ । युएसएआइडी जलजंगल गतिविधि कार्यक्रम अन्तरगत चितवन जिल्लाका भरतपुर महानगरपालिका, माडी नगरपालिकाका वडा कार्यालय, शैक्षिक संघसंस्था र सामुदायिक वन उपभोक्ता समितिलाई विभिन्न समुहमा तालिम सञ्चालन गरिएको हो ।

भदौ १६ गतेदेखि सञ्चालित कार्यक्रममा हालसम्म साढे पाँच सय बढीलाई तालिम प्रदान गरिएको प्रशिक्षक सूर्य पौडेलले जानकारी दिए । उनका अनुसार एक समुहलाई दुई दिनसम्म तालिम प्रदान गरिएको छ । सरोकारवालाहरुलाई पूर्वाधार विकासका आयोजनाहरुमा वातावरणीय प्रभाव, सामाजिक सुरक्षा कसरी प्रभावकारी कार्यान्वयन, विकास र वातावरणको सन्तुलन कायम गर्न वातावरणीय अध्ययन प्रतिवेदन तयारीको आवश्यकता, आयोजनाले पार्ने प्रभाव पहिचान, विकल्पहरूको विश्लेषण, न्यूनीकरण र समुदायको सहभागितालाई सुनिश्चितता गर्नका लागि कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक सूर्य पौडेलले बताए ।

तालिममा स्थानीय समुदाय, विद्यार्थी, विश्वविद्यालयका कर्मचारी, शिक्षक, उपभोक्ता समितिका सदस्यहरु, निर्माण व्यवसायीका प्रतिनिधि, स्थानीय पालिकाका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय क्लब, आमा समूह, साथी संजाल लगायत को सहभागीता रहेको थियो ।  साथै हालसम्म ५५० भन्दा बढीलाई प्रशिक्षण दिइसकिएको जसमा ७५ प्रतिशत महिला सहभागिता रहेको प्रशिक्षक प्रकाश आचार्यले जानकारी दिए ।

हालसम्म भरतपुर महानगर अन्तर्गत भरतपुर १० को कालिका मन्दिर, युनाइटेड टेक्निकल कलेज, भरतपुर १२ को वडा कार्यालय, ग्रीनल्याण्ड पब्लिक स्कुल, नारायणी बहुप्राविधिक शिक्षालय, सप्तगण्डकी बहुमुखी क्याम्पस, ज्ञानेश्वर सामुदायिक वनमा तालिम सञ्चालन भइसकेका छन् ।

त्यसैगरी माडी नगरपालिका अन्तर्गत माडी नगरपालिकाको सभाहलमा र दिवाकर बहुप्राविधि शिक्षालयमा तालिम भइरहेको छ । प्रशिक्षक ध्रुब आचार्यले वातावरणीय सुरक्षाको महत्व, निर्माण कार्य र पूर्वाधारको विकास क्रममा देखिने, वातावरणीय जोखिमहरुको पहिचान र तीनको न्यूनिकरणका उपायबारे प्रशिक्षण दिएका थिए । उनले वातावरणीय सन्तुलनलाई खलबल नपुग्ने गरी दिगो विकास र हरित विकासको सुनिश्चितता गर्न सकिए मात्र वातावरण र सामाजिक सुरक्षणलाई प्रभावकारी कार्यान्वयन गर्न सकिने बताए ।

प्रशिक्षक सुरज न्यौपानेले कुनै निर्माणका कार्यहरु गर्दा नेपालको संविधान र ऐन कानुनको परिधिमा रही निर्माण कार्य गर्नुपर्ने बताए । उनले निर्माणका क्रममा हुने नकारात्मक असरहरु वायुप्रदुषण, जलप्रदुषण, जैविक विविधतामा पर्ने असर, तीनको निराकरण कसरी गर्न सकिन्छ भन्नेबारे व्यावहारिकरुपमा प्रस्तुत गर्नुपर्ने बताए ।

कार्यक्रममा सामुदायिक वनका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, निर्माण व्यावसायी, उपभोक्ता समिति, इन्जिनियर, प्रत्यक्ष अप्रत्यक्ष त्यो कार्यसँग जोडिने जनताहरुको सहभागितामा कार्यक्रहरु भइरहेका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनका वि.एस्सी वातावरणीय विज्ञान विषयमा अध्ययनरत छात्रा सुरक्षा पोख्रेलले वातावरणीय र सामाजिक सुरक्षाको महत्व आदिका बारेमा उदाहरण सहित बुझ्ने अवसर प्राप्त गरेको बताईन् ।

क्याम्पस प्रमुख खिमलाल दाहालले विभिन्न संकाय विज्ञान, समाजशास्त्र, ग्रामिण विकासका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर सम्वन्धित विषयमा ग्यान दिने यस्तो ऐतिहासिक कार्यक्रम पहिलो पटक भएको र यस्ता कार्यक्रमको निरन्तरताले विद्यार्थीहरुको प्रयोगात्मक ज्ञानमा बृद्धि हुने बताए ।

नारायणी पोलिटेक्निकल ईन्टिच्युटका डिप्लोमा सिभिल ईन्जिनियरिङका विद्यार्थीहरुले यस कार्यक्रमले भविष्यमा पूर्वाधार निर्माणका कार्यगर्न, आफ्नो पेशागत ज्ञानलाई फराकिलो बनाउन सबैसंग समन्वयात्मक तरिकाले काम गर्न बाटो देखाएको धारणा राखेका थिए ।

भरतपुर महानगरपलिकाका वडा नं १२ का वडा अध्यक्ष लेखराज पन्तले स्थानीय तहका पूर्वाधार योजना कार्यान्वयनमा वातावरणीय तथा सामाजिक सुरक्षणका विधिहरु हालसम्म चासोको विषय पर्न नसकेको भएतापनि अव कार्यान्वयन हुने सवै पूर्वाधार परियोजनाहरुमा सुरक्षण विधिको अवलम्वन गरी गर्ने प्रतिवद्धता जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>