क्रिकेट

८ फ्रेन्चाईजले चुने मार्की प्लेयर, चितवन राइनोजको मार्कीमा कुशल मल्ल

Banner

चितवन, भदौ २९–

बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को ८ वटा फ्रेन्चाइज टिमले मार्की प्लेयर चुनेका छन् । आज (शनिबार) आयोजित कार्यक्रममा लक्की ड्र मार्फत मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।

नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । लक्की ड्र बाट काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर चुनिएका छन् । चितवन राइनोज टिम चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको छ ।

मार्की प्लेयर टुंगो लागेसंगै अब अन्य खेलाडी आवद्ध गर्न क्यानले अक्सन गर्नेछ । जसबाट टिम आवश्यकताका आधार खेलाडीमाथि बोली लगाइने छ । मार्की प्लेयरमा चुनिएका खेलाडीहरुले पारिश्रमिक बापत २० लाख रुपैयाँ पाउने छन् । अन्य खेलाडीलाई ए, बी, सी र लोकल आइकन गरी चार क्याटेगोरीमा छुट्याइएको छ ।

ए क्याटेगोरीका खेलाडीलाई १० देखि १५ लाख भित्रमा खरिद गर्नुपर्नेछ । बी क्याटेगोरीका खेलाडीलाई ५ देखि १० लाख भित्रमा खरिद गर्न पाइने छ भने सी क्याटेगोरीका खेलाडीलाई २ देखि ५ लाखमा खरिद गर्नुपर्ने हुन्छ । लोकल आइकनले १ लाख पारिश्रमिक पाउने छन् ।

एउटा टिममा विदेशीसहित १६ जना खेलाडी रहने छ । चार जना अनिवार्य विदेशी खेलाडी खेलाउनुपर्नेछ ।

एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>