समाचार
ढुसी लागेका खाद्य सामग्री बेच्ने डेरी उद्योग ‘सिल’
काठमाडौं, भदौ २८-
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य डेरी प्रडक्ट बेच्ने एक उद्योग ‘सिल’ गरेको छ । नयाँ बानेश्वरस्थित एकतामार्गमा रहेको अर्जुन डेरी उद्योगमा बिहीबार (हिजो) अनुगमन गरी सिल गरिएको हो ।
बेकरी सर्टेनिङलाई शुद्ध घिउ भन्दै प्याकिङ गरी बिक्री गरेको उजुरीका आधारमा विभागको टोली अनुगमनमा पुगेको थियो । अनुगमनका क्रममा ढुसी लागेको तथा लेबल विवरण उल्लेख नगरिएको बटर १५ केजीको ब्लक १६ थान भेटिएको थियो ।
ढुसी लागेको २५ केजी चिज र लेबल विवरण नगरिएको घिउ पनि बिक्री गरेको पाइएको थियो । साथै, बटरबाट घिउ तयार गर्ने भाँडो फोहोर अवस्थामा थियो । घिउ उत्पादनका निम्ति अनुमतिपत्र नलिएको समेत पाइएको विभागले जनाएको छ ।
विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधिको रोहबरमा उद्योगको भण्डारण कक्ष सिल गरेको छ ।
दैनिक रूपमा दुई अनुगमन टोली खटाई काठमाडौं उपत्यकाभित्र बजार अनुगमन भइरहेको विभागले जनाएको छ ।