राजनीति

संवैधानिक परिषद्को बैठक बस्नुअघि ओली, देउवा र प्रचण्डबीच भेटघाट

Banner

काठमाडौं, भदौ २८-

संवैधानिक परिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रमुख तीन दलका शीर्ष नेताका बीचमा छलफल भएको छ । संवैधानिक परिषद्ले गर्ने सिफारिसका साथै समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का बीचमा छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले शुक्रबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठकले गर्ने सिफारिसका विषयमा देउवा र प्रचण्डसँग छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । संवैधानिक परिषद्को बैठक बोलाइएकामा प्रधानमन्त्री ओलीले तयारी नपुगेकाले आज (शुक्रबार)का लागि बैठक बोलाएका छन् ।

संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ । परिषद्मा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायधीश, उपसभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगर एकठाउँमा उभिँदा परिषद्मै बहुमत नपुग्ने देखिन्छ ।

त्यसैले, ओलीकै प्रस्तावमा उपसभामुखलाई हटाएर कांग्रेसबाट उपसभामुख बनाउने गृहकार्य जारी रहेको छ । कांग्रेस परिषद्मा शून्य छ । अब आगामी सोमबारसम्ममा उपसभामुखलाई हटाउने प्रस्ताव दुई तिहाइ बहुमतबाट पारित गरिने योजनामा सत्तारूढ दल रहेका छन् । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित हुने सम्भावना बढी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>