अन्तर्राष्ट्रिय
भियतनाममा रोकिएन समुद्री आँधीको वितण्डा, दिनहुँ बढ्दै मर्नेको संख्या
हानोई, भदौ २७-
भियतनाममा यागी समुद्री आँधीको वितण्डा सकिएको छैन । आँधीका कारण मर्नेको संख्या दिनहुँ जसो बढिरहेको छ ।
अचानक बाढी र पहिरो जाँदा १२५ जनाभन्दा बढी हराइरहेको स्थितिमा मर्नेको संख्या झन्डै २०० पुगेको छ । भियतनामको भीएनएक्सप्रेस पत्रिकाले बताएअनुसार समुद्री आँधी आएयता १९७ जनाले ज्यान गुमाइसकेका छन् ।
अरू १२८ जना अझै बेपत्ता रहेको बताइएको छ । ८ सयभन्दा बढी घाइते भएका छन् । अचानक आएको बाढीका कारण मंगलबार उत्तरी भियतनामको लाओ काई प्रान्तको दुर्गम गाउँ लाङ नु सारा बगाउँदा हप्ताको सुरुमा मृत्यु हुनेको संख्या ह्वात्तै बढेको थियो । बिहीबार बिहानसम्म सो गाउँमा ५३ जना बेपत्ता रहेको बताइएको छ ।
अरू सात जनाको शव भेटिएपछि गाउँमा मात्रै मर्नेको संख्या ४२ पुगेको छ । यागी भियतनाममा ३ दशकमा आएको सबैभन्दा शक्तिशाली आँधी हो । शनिबार यसले पहिरो खसालेपछि मृत्युको शृङ्खला सुरु भएको थियो । भारी वर्षाका कारण भियतनामको औद्योगिक हबहरूमा ठुलो क्षति गराएको बताइएको छ । एजेन्सी