अन्तर्राष्ट्रिय
भारतमा रेल्वे ट्र्याकमा रिल बनाउँदै गर्दा रेलले ठक्कर दियो, एकै परिवारका तीनको मृत्यु
काठमाडौं,भदौ २७-
भारतको उत्तर प्रदेशस्थित लखिमपुर खेरीमा रेलको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा श्रीमान्–श्रीमती र तीन वर्षीय बालक रहेका छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरू रेलवे ट्र्याकमा रिल बनाउँदै थिए । इन्डिया टुडेमा प्रकाशित समाचारअनुसार घटना हिजो अर्थात् सेप्टेम्बर ११ को हो । बुधबार बिहान ११ बजे उमरिया गाउँ नजिकै घटना भएको हो । मृतकहरूको सनाखत भएको छ । मुहम्मद अहमद (उमेर २६ वर्ष), नाजनीन (२४ वर्ष) र तीन वर्षका छोरा अब्दुल्लाहको रेलको ठक्करबाट ज्यान गएको हो । उनीहरू तीनै जना सीतापुर जिल्लाको लाहारपुर शेख टोलामा बस्दै आएका थिए ।
रेलवे ट्र्याकमा छोरासँग भिडियो बनाउने क्रममा रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको समाचारमा उल्लेख छ । पुलमुनि बाइक पार्क गरेर उनीहरू करिब ५० मिटर पर ट्र्याकमा गएका थिए । जब उनीहरू रिल्स रेकर्डिङ गर्दै थिए लखनउबाट मैलानी जाने रेल आयो । उनीहरूले ध्यान दिएनन् । भाग्न खोज्दा धेरै ढिलो भइसकेको थियो । रेलको ठक्करबाट परिवारको घटनास्थलमै मृत्यु भएको हो । दुवैलाई सामाजिक सञ्जालमा रिल बनाउने बानी रहेको गाउँपालिका र गाउँका अन्य व्यक्तिले स्थानीय सञ्चारमाध्यमलाई बताए । एजेन्सीको सहयोगमा