चितवन विशेष

गामबेसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ पर्व मनाईयो

Banner

चितवन, भदौ २२–

चेपाङ समुदायको महान् चाड ‘न्वागी’ आज धुमधामसहित मनाइदैछ । चितवनमा चेपाङहरुको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका बस्तीहरुमा यो पर्व मनाईदैछ ।

चेपाङ समुदायको महत्वपूर्ण पर्व भएकाले चेपाङ बालबालिकालाई आवासीय शिक्षा दिईरहेको गामबेसी चेपाङ संरक्षण केन्द्र रत्ननगरले पनि ‘न्वागी’ मनाएको छ । गाउँबाट आएका चेपाङका गुरु पान्देहरुले अन्नपातमा पूजापाठ गरेपछि खाना खुवाईएको थियो । चेपाङका गुरु पान्दे अमृतलाल चेपाङले आज सबै चेपाङ बस्तीहरुमा धुमधामका साथ मनाउने गरिएको बताए । उनले यो पर्व लोप हुने जोखिम रहेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले चेपाङ समुदायका युवा पुस्ताहरुमा आफ्नो चाडपर्व, संस्कृति बिर्सदै गएकाले केन्द्रमा आश्रित बालबालिकाहरुलाई पर्वको जर्गेना गर्न धुमधामका साथ पान्दे बोलाएर पर्व मनाइएको बताए । उनले विगतदेखि नै यसरी केन्द्रमा न्वागी मनाउने गरिएको बताए । केन्द्रमा हाल १५० जना चेपाङ बालबालिकाहरु आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।

साउन महिनामा बाहिरिएको भगवान भदौं महिनामा आउने र नयाँ अन्नबालीसंग पूजापाठ गरी मात्र भोजन गर्ने परम्परा रहेको छ । न्वागीको दिन घैयाँ धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाक्री हरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>