अपराध

बेपत्ता ममता काफ्लको घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक

Banner

काठमाडौं, भदौ १६-

अमेरिकाको भर्जिनियामा १५ साउनदेखि बेपत्ता रहेकी ममता काफ्लको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई थुनामा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष पेश गरिएको तस्वीरहरु सार्वजनिक भएको हो ।

स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभ डटकमले सार्वजनिक गरेको तस्वीरहरुमा भट्टको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिन्छन् ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जिवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।
भट्ट पक्षका वकिलहरुले भने शरीरबिनै गम्भीर अभियोग लगाइएको भन्दै जमानतमा छाड्न माग गरेका थिए । यद्यपि, अभियोजकतर्फका वकिलहरुको बहस सुनेपछि नरेश समाजका लागि खतरा हुनसक्ने भन्दै उनलाई थुनामै राख्ने आदेश भयो ।

अदालतमा भएको बहसका क्रममा अभियोजकतर्फका वकिलहरुले प्रहरी अनुसन्धानका क्रममा नरेशले घटनाको केहीअघि श्रीमतीको मृत्यु भएको कति समयपछि बिहे गर्न सकिन्छ भनेर गुगल सर्च गरेको फेला परेको बताएका थिए ।

ममता सम्पर्कविहीन भएलगत्तै उनले आफ्नो कार बिक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ भने उनले घर पनि विक्री गर्न खोजेका थिए ।

पछिल्लो समय उनले घरमा आफूविरुद्ध हिंसा भइरहेको भन्दै साथीहरुलाई सुनाएकी थिइन् । उनले सम्बन्धविच्छेद गर्नेबारे समेत छलफल गरिरहेको पाइएको छ । त्यहीबीचमा यो घटना भएको हो । उनीहरुको एक वर्षको छोरी समेत छिन् ।

छोरीको रेखदेखका लागि काभ्रेको पनौतीस्थित ममताको माइती पक्षबाट आमा र दाइ अमेरिका गएका छन् । प्रहरीले ममताको खोजी कार्यलाई भने जारी राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>