विचित्र संसार
नसबन्दी गर्दा पनि पाँचौँ सन्तान भएपछि क्लिनिकविरुद्ध मुद्दा हाल्ने तयारी
मस्को, भदौ १-
परिवार नियोजन (नसबन्दी) गरे सकेपछि पनि सन्तान जन्मिएको भन्दै रुसमा एक व्यक्तिले क्लिनिकमाथि मुद्दा दर्ता गर्ने भएका छन् ।
सन् २०२२ मा चौथो सन्तानको पिता बनेपछि रुसको उफा सहर निवासी ४५ वर्षीय म्याक्सिमले आफ्नो पत्नी पुनः गर्भवती नहोस् भनेर नसबन्दी गर्ने निर्णय लिएका थिए । यसका लागि उनी स्थानीय ‘प्रोमेडिटसिना’ क्लिनिकमा पुगेका थिए ।
त्यहाँ पुगेर सम्पूर्ण प्रक्रियाका लागि उनले ३० हजार रुबेल (करिब ३ सय ३० डलर) तिरेका थिए । अपरेसन सफल भएको भन्दै उनलाई केही घण्टामा डिस्चार्ज पनि गरियो ।
गत वर्षसम्म सबै कुरा ठिक थियो । तर, अचानक म्याक्सिमकी पत्नीले उनी पुनः गर्भवती भएको जानकारी दिइन् । सुरुमा परीक्षण गलत भएको होला भन्ने ठानेका उनी गत नोभेम्बरमा पाँचौँ सन्तानका पिता बने ।
त्यसपछि उनले के भएको हो भनेर बुझ्न नसबन्दी गरेको क्लिनिकमा सम्पर्क गरे । क्लिनिकले उनलाई वीर्य र पितृत्वको जाँच गर्न सुझाव दियो । दुवै परीक्षणमा उनी बच्चा पाउन योग्य रहेको खुल्यो ।
तर, क्लिनिकले आफ्नो गल्ती स्वीकार गर्नुको साटो यसलाई ‘मेडिकल चमत्कार’ भनेर टारिदियो । उल्टै उनलाई बच्चा भएकोमा खुसी हुनुपर्ने भनियो ।
यति मात्र होइन, क्लिनिकले उनलाई नसबन्दीको पैसा फिर्ता गरिदिने अफर गर्यो । तर, म्याक्सिम र उनको परिवारले यो अफर अस्वीकार गरेको छ । अब उनीहरूले पाँचौँ सन्तानको खर्च क्लिनिकले तिर्नुपर्ने मागसहित अदालतमा जाने तयारी गरेका छन् ।
गत वर्ष नसबन्दी गरेपछि पनि बच्चा जन्मिँदा कोलम्बियाका एक डाक्टरले उक्त बच्चा १८ वर्षको उमेर हुँदासम्म परिवारलाई आर्थिक रुपमा सहयोग गर्नुपर्ने अदालतले आदेश दिएको थियो । एजेन्सी
फाइल तस्बिर