देश/प्रदेश

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छः राजदूत सोङ

Banner

काठमाडौँ, साउन १२-

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पूँजी र श्रम बजारलाई व्यवस्थित रूपमा खोल्ने बताउनुभएको छ । चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको २० औँ बैठकको हालैको तेस्रो पूर्णसत्रका निर्णयहरू चीन र विश्वलाई नै महत्त्वको भएको जनाउँदै उहाँले उच्चस्तरको खुलापनले विकासका अवसर थपिने र नेपाल जस्ता विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने विश्वास दिलाउनुभयो ।

उहाँले आज दिनुभएको वक्तव्यमा राजधानी बेजिङमा गत असार ३१ –साउन ३ गतेसम्म आयोजित प्लेनरी सेसनले चीनको आर्थिक एवं सामाजिक विकासको नयाँ खाका कोरेको बताउँदै यो चीन र विश्वलाई नै ठुलो महत्त्वको भएको तथा आधुनिकतामा नै भरोसा राख्ने र सुधारलाई बढाउने चीनको प्रतिबद्धता रहेको स्पष्ट गर्नुभयो ।

चीनमा सुधार र खुलापन सुरु भएदेखि नै पार्टी केन्द्रीय समितिको प्रत्येक तेस्रो पूर्ण बैठकले सुधारका विषयमा जोड दिने गर्छ र आगामी पाँचदेखि १० वर्षसम्मका लागि चीनको विकासका लागि योजना र प्रबन्ध निर्माण गर्छ । चिनियाँ राजदूतले भन्नुभएको छ, “स्वदेशी तथा विदेशी उद्यमी तथा पर्यवेक्षकहरूले पनि सो तेस्रो पूर्णबैठकले चीनलाई मात्र नभई सम्पूर्ण विश्वलाई सकारात्मक र न्यानो सङ्केत दिएको बताउनाका साथै बढ्दो भूराजनीतिक तनाव र संरक्षणवादका बीच चीनमा थप लगानी र विकास एवं विश्वमा नै स्थायित्व दिने विश्वास व्यक्त गरेका छन् ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>