चितवन विशेष
चितवन जिल्ला लिग फुटबलः सौराहा र पानसलाई महत्त्वपूर्ण ३ अंक
चितवन , साउन ११-
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज (शुक्रबार) दुई खेल सम्पन्न भएका छन् । लिग अन्तर्गत शारदानगरको मैदानमा आज सम्पन्न खेलमा सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो ।
खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ मिनेटमा एक गोल गरे । जि ब्वाइजका निश्चल गुरुङले अतिरिक्त समयमा गोल गरे ।
यो जितपछि सौराहाले समूह ए मा ५ खेलमा ८ अंक बनाएको छ । सौराहा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानमा झरेको जि ब्वाइजको ४ खेलमा ६ अंक छ ।
यहि समूहको अर्को खेलमा पानसले नारायणी मोटर्स युनिक एफसीलाई २-० ले पाखा लगायो । पानसको जितमा साहिल सुनारले ५२ औं तथा शिव गुरुङले ५६ औं मिनेटमा गोल गरे ।
यो जितपछि पानसले ४ खेलमा ९ अंक बनाएको छ ।पानस तालिकाको दोस्रो स्थानमा छ । युनिक भने ४ खेलमा ३ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । आजको नतिजाले समूह ए लाई रोमाञ्चक बनाएको छ । यो समूहमा हानामी भरतपुर फुटबल क्लब १० अंकसहित तालिकाको शिर्ष स्थानमा छ ।
लिगमा शनिबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो २:३० बजे नारायणी एफसी र एष्ट्रल युथ सोसाइटी तथा दोस्रो खेलमा दिउँसो ४:३० बजे हर्दी युवा समाज र यात्रा ग्रुप भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।