देश/प्रदेश
काभ्रेका सहिद मुकेशः एक वर्षपछि राज्यबाट सुविधा पाउँदै परिवार
काभ्रेपलाञ्चोक, साउन ११-
दोस्रो जनआन्दोलनमा गम्भीर घाइते १७ वर्षसम्म अर्धचेत भई निधन भएका काभे्रको बनेपाका मुकेश कायष्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । अर्धचेत भई शय्यामै ‘जीवन–मरण’को अवस्था रहनुभएका बनेपा नगरपालिका–८ का ३२ वर्षीय मुकेशको उपचारको क्रममै विसं २०८० वैशाख २७ गते अस्पतालमा निधन भएको थियो ।
विसं २०८० जेठ २ गते मुकेशलाई तत्कालीन सरकारले सहिद घोषणा गरेको थियो । यसपछि मुकेशको परिवारले केही प्रविधिक त्रुटीका कारण राज्यबाट पाउने सुविधा पाएको थिएन । सहिद घोषणा राजपत्रमामा प्रकाशित हुँदा निधन भएको मिति नमिलेपछि सुविधा पाउनबाट एक वर्षदेखि मुकेशको परिवार वञ्चित रहँदै आएको थियो । मुकेशको परिवारले गृहमन्त्री रमेश लेखकलाई भेटी आफूले राज्यबाट सुविधा पाउनबाट भएको बञ्चितीबारे जानकारी गराएपछि सरकारको तर्फबाट सहिदले पाउनेसरह सबै सुविधा पाउने भएको हो ।
सहिद मुकेशको आमा मीरा कायस्थले बुधबार गृहमन्त्री लेखकसँग भेटी उक्त जानकारी गराएपछि लेखकले राज्यबाट पाउने सुविधान दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “हामीले गृहमन्त्रीलाई भेटेर आयौँ, उहाँले सङ्घीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा सहिद मुकेश कायस्थको योगदान छ, केही प्राविधिक त्रुटी सच्याएर राज्यबाट पाउने सुविधा सबै दिलाउँछौँ, मेरो प्रतिबद्धता छ भन्नुभएको छ”, कायष्थले भन्नुभयो ।
उहाँले यसअघि राज्यबाट सहिद परिवारले पाउने कुनै पनि सुविधा नपाएको बताउनुभयो । “राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुप¥यो भन्नका लागि गृहमन्त्री भेट्न गएका हौँ, उहाँले सुविधान प्रदान गर्न छिट्टै प्रक्रिया अघि बढाउने भन्नुभएको छ, आशावादी भएका छौँ”, कायष्थले भन्नुभयो ।
सरकारले मुकेशको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । यस्तै २०७८ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा रहेको ‘लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समिति’ले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै मुकेशलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो । सरकारले उक्त परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो ।
मुकेश दोस्रो जनआन्दोलन (२०६२–६३)मा गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचार गर्दापनि अर्धचेत अवस्थामै रहेपछि कायष्थ परिवारले निकै पीडा खेप्दै आएको थियो । आन्दोलनका क्रममा २०६२ चैत २७ गते १५ वर्षका मुकेशलाई बनेपाको तीनदोबाटोमा बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदेखि उहाँको होस् खुल्न सकेको थिएन भने बाँया हात र गोडा राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो ।
बनेपाको विद्या सागर स्कुलमा कक्षा ८मा अध्ययनरत मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका हुनुहुन्थ्यो । मुकेश घाइते भएको केही समयपछि उहाँको उपचारार्थ सहयोग एवं समन्वयका लागि ‘मुकेश फाउण्डेशन’समेत स्थापना गरिएको थियो । गोली लागेर घाइते हुनुएको दिनदेखि ‘ओछ्यान’मा पर्नुभएका मुकेशलाई ‘ज्यूँदा सहिद’ भन्ने गरिँदै आइएको थियो ।
मुकेश ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहनुभयो । परिवार र स्वास्थ्कर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही हल्लाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खाने कुरा खाने सक्नेसम्म हुनुएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्यो । बाबा–आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहारसुसारमा दिनरात नभनेको कायष्थ परिवारलाई आशा मरेको थिएन ।
लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा बिरामी परेपछि पेटमै पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । चिकित्सकका अनुसार मुकेशको टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा स्वास्थ्यमा थप समस्या हुँदै आएको थियो ।
थप बिरामी परेपछि मुकेश दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरुलाई ‘पीरमाथि पीर’ थपिँदै गयो । कसैले उहाँको नाम लिएर बोलाउँदा ‘हँ ह, माँ’ भनेर बोल्नसक्ने मुकेश पछिल्लो वर्षदेखि बोल्न सक्नुभएको थिएन । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिनुहुन्थ्यो । मुकेश परिवारको एक्ला छोरा हुनुहुन्थ्यो । “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भएको होला, त्यत्रा वर्षसम्म ओछ्यानमै रहेर हामीलाई छोडेर गयो १”, मुकेशका बाुब कृष्णमानले भन्नुभयो ।
बिरामी परेयता मुकेश दाँया हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्नुहुन्थ्यो । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुने गर्नुहुन्थ्यो । मुकेशको चेत खुल्नसके थप सहयोग मागेर भएपनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की, भन्ने आशामा बसेको थियो कायष्थ परिवार । तर, देश–विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहित थियो उक्त परिवार । आन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायष्थ दम्पतिको छ ।
दोस्रो अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँको जोरपाटीमा मारिनुभएको थियो । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए । रासस