चितवन विशेष
उद्घोषण कला सिक्दै धर्मध्वज टोलका आमाहरू
चितवन, साउन ११–
क्षेत्रपुरस्थित धर्मध्वज टोल आमा समूहले समूहमा आवद्ध महिलाहरूका लागि उद्घोषण कला तथा व्यक्तित्व विकास तालिम सञ्चालन गरेको छ । चार दिनसम्म चल्ने तालिमको बिहीबार धर्मध्वज टोलका अध्यक्ष इमानबहादुर गुरूङले उद्घाटन गरेका हुन् ।
महिला दिदीबहिनीहरूलाई आफ्ना कुरा निर्धक्क भएर राख्न नसक्ने समस्या भएकोले यसपटक तालिम नै आयोजना गरिएको आमा समूहकी अध्यक्ष उमिता गुरूङले जानकारी दिइन् । गत जेठ १५ गतेमात्रै स्थापना भएको समूहले सबैभन्दा पहिले क्षमता विकास तथा नेतृत्व विकास नै आवश्यक परेको ठानेपछि आन्तरिक स्रोतकै माध्यमबाट तालिम सञ्चालन गरेको उनले बताइन् ।
तालिमको उद्घाटन गर्दै धर्मध्वज टोलका अध्यक्ष इमानबहादुर गुरूङले आमा समूहको माध्यमबाट आमाहरूको क्षमता विकासमा टेवा पुग्ने कार्यक्रम आयोजना गरेर उदाहरणीय काम गरेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन उनले सुझाव दिए ।
समूहकी सचिव गौरी गुरूङले घरभित्रै सीमित हुँदै आएका महिलाहरूलाई सार्वजनिक स्थानमा आफ्ना कुरा राख्न सक्ने बनाउने प्रयास गरिएको बताइन् । ‘संस्था गठन त गरियो । तर, यसलाई सञ्चालन गर्ने र संस्थाका सदस्यबीचमा आफ्ना कुरा निर्धक्क भएर राख्ने बानीको विकास गर्न पनि यो तालिम आवश्यक थियो,’ उनले भनिन् ।
करिब २५ जना प्रशिक्षार्थी रहेको उक्त तालिममा पत्रकारहरू विमर्श कँडेल, सविता अधिकारी र तुलमान गुरूङले प्रशिक्षण दिनेछन् ।