चितवन विशेष
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु
चितवन, साउन १०–
भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवाको शुभारम्भ गरेको छ ।
आज (बिहीबार) एक कार्यक्रमकाबीच महानगर प्रमुख रेनु दाहाल र उप–प्रमुख चित्रसेन अधिकारीले दुई जना बिरामीलाई विशेषज्ञ सेवाको टिकट हस्तान्तरण गरे सेवाको शुभाम्भ गरेका हुन् । भरतपुर–१४ स्थित यस प्राथमिक स्वास्थ्य केन्द्रमा सातामा तीन दिन आसपासका नगरबासीले विशेषज्ञ सेवा पाउने छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) र भरतपुर आँखा अस्पतालको समन्वयमा हरेक सोमबार जनरल फिजिसियन सेवा, बुधबार प्रसुती तथा स्त्री रोगसंगै रेडियोलोजी सेवा, बिहीबार बाल रोग र आँखाको उपचार सेवा प्रदान गरिने महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । ‘हाललाई सातामा तीन दिन मात्रै विशेषज्ञ सेवा चल्छ, अन्य दिनका लागि पनि हामी व्यवस्थापनको तयारीमा छौं’–भट्टले भने ।
वि.सं.२०२७ सालमा स्थापना भएको यस शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र महानगरपालिकाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द हो । यहाँ सामाजिक स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ । गत आर्थिक वर्षमा यस प्राथमिक स्वास्थ्य केन्द्रमा ४९ हजार ३७५ जनाले सेवा लिएका थिए । दैनिक औषत बिरामी संख्या १६५ जना रहेको छ । यस केन्द्रमा सुरक्षित सुत्केरी, गर्भपतन, प्रयोगशाला, एक्सरे सेवा प्रदान गर्दै आइरहेको छ । नगर अस्पतालको रुपमा विकास गर्न लागिएको यस प्राथमिक स्वास्थ्य केन्द्रमा हाल तीन जना मेडिकल अधिकृतसहित ३२ जना कर्मचारी कार्यरत छन् ।
सेवाको शुभारम्भ गर्दै महानगर प्रमुख दाहालले यस केन्द्रको स्तरोन्नतीलाई महानगरले प्राथमिकतामा राखेको बताइन् । उनले संघीय सरकारबाट केन्द्रको स्तरोन्नतीका लागि यस आर्थिक वषमा १ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिइन् । ‘नगरअस्पतालको रुपमा विकास हुन जुन किसिमले भौतिक पूर्वाधारहरु हुनुपर्दथ्यो त्यो भएको छैन, हामी आगामि दिनमा क्रमिक रुपमा संघीय सरकारको बजेट कार्यान्वयनसंगै महानगर आफैले स्तरोन्नतीको काम अगाडि बढाउँछौं’–प्रमुख दाहालले भनिन् । उनले अस्पतालमा हाल तीन दिन मात्रै विशेषज्ञ सेवा हुने तय भए पनि साताभर नै विशेषज्ञ सेवा संचालनका लागि अन्य अस्पतालहरुसंग समन्वय र प्रयास गरिने बताइन् । प्रमुख दाहालले विशेषज्ञ चिकित्सका लागि केन्द्रीय सरकारले दरबन्दी उपलब्ध नगराएसम्म आफ्नै आन्तरिक स्रोतबाट भए पनि विशेषज्ञ चिकित्सक राख्ने तयारी गरिने बताइन् ।
महानगर उप–प्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए। महानगरको गाउँगाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उनको भनाई थियो ।