चितवन विशेष

नेकपा एमाले पर्वत–चितवन सम्पर्क समाज गठन

Banner

चितवन, साउन १०-

नेकपा (एमाले) पर्वत–चितवन सम्पर्क समाज भेला आयोजक कमिटी गठन गरिएको छ । एमाले चितवनको पार्टी कार्यालय भरतपुरमा बुधवार सम्पन्न चितवनमा रहेका पर्वतेलीहरुको भेलाले ३१ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको संयोजकमा महाशिला–५ (हाल भरतपुर महानगरपालिका वडा नं ८)का नेत्रप्रसाद शर्मा, उपसंयोजकमा फलेवास–१० (हाल रत्ननगर)का काशिनाथ शर्मा र सदस्य सचिवमा फलेवास–७ (हाल भरतपुर ७)का देवेन्द्र पौडेल चयन भएका छन् ।

कमिटीको सदस्यहरुमा केशप्रसाद शर्मा, जयनारायण शर्मा, नेत्रप्रसाद लामिछाने, एकबहादुर जिसी, लक्ष्मी क्षेत्री, तुलसीप्रसाद शर्मा, लेखनाथ आचार्य, दिवाकर लामिछाने, रेशमलाल सुवेदी, सागरकुमार तिवारी रहेका छन् । यसैगरी सदस्यहरुमा प्रशान्त सुवेदी, कुमारी पराजुली, भगवती पौडेल, शेषकान्त अधिकारी, देवराज शर्मा, प्रेम क्षेत्री, तिलक अधिकारी, गोकर्ण कार्की, दिपेश भुषाल, आशिष सापकोटा, ओविदत्त पराजुली, लक्ष्मीप्रसाद उपाध्याय, देवी बस्याल, लिलावल्लव भुसाल, विजय विश्वकर्मा, प्रकाशचन्द्र रिजाल, इन्द्रकुमारी शर्मा र कमला शर्मा पौडेल रहेका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी पर्वतले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले हिजो पर्वतमा रहँदा पार्टी काममा सक्रिय रहेका तर चितवन झरेपछि राजनीतिमा लुकेर बसेको ठूलो पंक्ति रहेको बताए । यसरी लुकेर बसेकाहरुलाई पार्टीले जिम्मेवारी दिएर अगाडि ल्याउनु पर्ने ज्ञवालीले बताए ।

सम्पर्क समाजले पर्वतेलीहरु विभिन्न काम विशेषले चितवनमा आउँदा सहयोग गर्नुपर्ने बताउँदै दुई जिल्लाको पार्टी कामलाई प्रभावकारी बनाउन समाजले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

एमालेको नेतृत्वमा पर्वतको विकासमा कायापलट भएको भन्दै उनले भौतिक पूर्वाधारको विकास हुँदाहुँदै पनि बसाईसराई नरोकिएको बताए । उनले भने “रोजगारी, शिक्षा र स्वास्थ्यको प्रत्याभूति गरेर बसाईसराईलाई न्यूनिकरण गर्न सकिन्छ ।”

कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं पर्वतका सांसद पदम गिरीले भेलालाई सम्बोधन गर्दै नाभी गाडेको ठाउँ नभुल्न चितवनमा रहेका पर्वतेलीहरुलाई आग्रह गरे । विगतमा पार्टीले आव्हान गरेको आन्दोलनमा योगदान दिएका साथीहरु अहिले चितवनमा आएर यसै बस्न नपाउने भन्दै उनले जहाँ रहेर पनि पार्टीलाई योगदान दिन सकिने बताए ।

समृद्धि र सुशासनमा सोचे जति सफलता पाउन नसकिएको भन्दै उनले अब गाउँ फर्किने दिन आउँने गरी काम हुने बताए । उनले विगत २५ वर्षको अवधिमा देशलाई विभिन्न समस्याले अघि बढ्ने बाधा पु¥याएको भन्दै १० वर्षको द्वन्द्व, महाभूकम्प, नाकाबन्दी, कोभिड, आर्थिक संकटले विकास पछाडि परेको बताए ।

दुई ठूला दल मिलेर सरकार बनाएसँगै नयाँ उर्जा र विश्वास जागेको भन्दै गिरीले अब निराश हुनु नपर्ने गरी काम हुने बताए । उनले भने “एकाध वर्षमा इतिहास रच्ने र जनताले अनुभूति गर्ने गरी काम हुन्छ ।”

कार्यक्रमका सभापति एवं पर्वत जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडीले कार्यक्रममाथि प्रकाश पार्दै भौगोलिक विभाजनले भावनात्मक सम्बन्धमा विभाजन हुन नसक्ने बताए । उनले धेरै विचारहरुको बीचबाट राम्रो विचार संकलन गरेर पर्वत पार्टी निर्माणमा जोड्न चाहेको बताए । उनले भने, “तपाईहरुको ज्ञान, सीप र क्षमता पर्वतको विकास र पार्टी निर्माणमका लगाउन चाहन्छौं ।”

कार्यक्रममा एमालेबाट पर्वतका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुले गरेका कामका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा शिक्षाविद् रमाकान्त सापकोटा, एमाले गण्डकी प्रदेश कमिटी सदस्य शान्ता पौडेल, प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य मित्रलाल बस्याल, एमाले चितवनका कार्यवाहक अध्यक्ष श्यामकुमार बिष्ट, एमाले चितवनका उपसचिव ज्वाला पुरी, महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुषाल, बिहादी गाउँपालिका उपाध्यक्ष मिना तिवारी लगायतले बोलेका थिए ।

पर्वत जिल्ला कमिटी सचिव सुवासचन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा पर्वतबाट चितवन आई विभिन्न पेशा, व्यवसायमा संलग्न महानुभावहरुको ठूलो संख्यामा उपस्थिति थियो ।

सचिव पौडेलले “जहाँ पार्टीका समर्थक, शुभचिन्तक तथा सदस्य त्यहाँ पार्टी काम” भन्ने नाराका साथ विभिन्न जिल्लामा कार्यक्रम गर्न लागिएको बताए । उनले आज (बिहीवार) नवलपुर क्षेत्रको कावासोतीस्थित एमाले पार्टी कार्यालयमा र साउन ११ गते बुटवल क्षेत्रको सुख्खा नगरस्थित एमाले पार्टी कार्यालयमा यस्तै कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>