घटना -दुर्घटना
नारायणीमा भेटिएको एउटा शव सीमलताल दुर्घटनाको नभएको पुष्टि
काठमाडौँ, साउन ८-
नारायणी नदीमा फेला परेको एउटा शव सिमलताल दुर्घटनामा परेका यात्रुको नभएको पुष्टि भएको छ। दुर्घटनामा परेका भनिएका २५ यात्रुको शव फेला परेको भनिए पनि एउटा शव अर्कैको भएको सोमबार सनाखत भएको छ।
सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, साउन ४ गते पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको केउरनीस्थित नारायणी किनारमा फेला परेको महिलाको शव दुर्घटनामा परेका यात्रुको नभएको पुष्टि भएको छ।
उक्त शव पाल्पा रामपुर नगरपालिका १ ठूलोबेसीस्थित कालिगण्डकी नदीबाट साउन २ गते दिउँसो १ बजेदेखि बेपत्ता ५२ वर्षकी मायादेवी विकको रहेको खुलेको छ।
उनका छोरा राम बहादुर विकले सनाखत गरी शव बुझेर लगेका छन्।
गत असार २८ गते नारायणगढ मुग्लिङ सडकखण्ड अन्तरगत सिमलतालमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एन्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सलाई पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको थियो।
यी दुई बसमा ६५ जना यात्रु रहेकोमा ३ जना बच्न सफल भएका थिए। तर अधिकांशको भने अझै शव फेला पर्न सकेको छैन।