खेलकुद
महिला तथा पुरुष विश्वकप छनोट प्रतियोगितामा परिवर्तन: विश्वकपमा पुग्न नेपाललाई केही सहज
काठमाडौँ, साउन ८-
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला तथा पुरुष विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ । आईसीसीले गरेको पछिल्लो निर्णयले विश्वकपमा पुग्न नेपाललाई केही सहज हुने भएको छ ।
बैठकले सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा परिवर्तन गरेको छ । जसअनुसार अब युरोप र अफ्रीकाबाट २–२, अमेरिकाबाट १ तथा एसिया र इस्ट एसिया प्यासिफिक (इएपी) क्षेत्रबाट ३ टोली छनोट हुनेछन् ।
यसअघि एसियाबाट २ र इएपीबाट १ टोली छनोट हुने प्रावधान थियो । एसियाबाट विश्वकपमा पुग्न मुख्य गरी नेपाल, ओमान, यूएई र हङकङ दाबेदार रहने गरेकोमा तीन टोली हुँदा नेपाललाई केही सहज हुने भएको छ । महिलातर्फ पनि आईसीसीले विश्वकपमा सहभागी हुने टोलीको सङ्ख्या बढाएको छ ।
सन् २०३० को विश्वकपदेखि सहभागी टोलीलाई १२ बाट १६ पुर्याइएको छ । नेपालको महिला टोलीले अहिलेसम्म विश्वकप खेल्न सकेको छैन । एजेन्सी