कृषि

चितवनको परेवाकोटमा धनबहादुरको कफी खेती, गाउँभर विस्तार गर्ने लक्ष्य

Banner

निरुता बि.क
चितवन, असार १९-

चितवनको राप्ती नगरपालिका वडा नम्वर २ निवासी धनबहादुर मास्के श्रेष्ठले परेवाकोटको डाँडैभरि बाह्रैमास हरियाली बनाउने योजनासहित कफी खेती गर्नुभएको छ । चितवनको पहाडी क्षेत्रमा कफी खेतीको प्रचुर सम्भावना देख्नुभएका श्रेष्ठले माटो परीक्षण गरेर कृषि विज्ञहरूसँगको सल्लाहपछि पाँच विगाह जमिनमा उपयुक्त जातको कफी खेती सुरू गर्नुभएको हो ।

कफी खेतीसँगै उहाँ पर्यटकलाई आकर्षित गर्ने अन्य संरचना निर्माण र खेती गर्ने योजनामा हुनुहुन्छ । इलाममा चिया खेती हेर्न पर्यटक जाने गरेजस्तै यहाँ फलफुल खेती हेर्न पर्यटक आउने बनाउने अभियानमा लागेको उहाँ बताउनुहुन्छ । उहाँले कुनै दिन यो ठाउँ देशभर प्रख्यात बनाउने योजनामा आफु लागेको बताउनुभयो ।

चितवन कफी खेतीका लागि प्रख्यात जिल्ला होइन । तर, व्यवसायी श्रेष्ठले कफीप्रति आफ्नो भविष्य देखेर अगाडि बढ्नुभएको छ । यतिवेला उहाँ कफी खेती गर्न व्यस्त हुनुहुन्छ । चितवनको आधा जसो भाग पहाडी भूभागमा पर्छ । यहाँको माटो कफी र अनारका लागि उपयुक्त रहेको श्रेष्ठले बताउनुभयो । यहाँका पहाडी क्षेत्र कफीका लागि उपयुक्त रहेको कृषि प्राविधिकहरुले समेत बताएका छन् ।

रामेछापमा जन्मनुभएका श्रेष्ठ वि.स २०५४ सालमा चितवन झर्नुभएको हो । होटल, सुपरमार्केट र हस्पिटल सञ्चालन गरेर बस्नुभएका श्रेष्ठ चार बर्षअघि ब्राजिल भ्रमणमा जानुभएको थियो । त्यहाँ कफी खेती गरेको देखेर यहाँ आएपछि खेती गर्न प्रोसाहन मिलेको उहाँ बताउनुहुन्छ । ‘ब्राजिलमा कफी खेती सम्बन्धी काम सिकेर आए । बिउ पनि ल्याए । यहाँका किसानलाई पनि दिए’ उहाँले भन्नुभयो,‘मकै कोदोमाभन्दा राम्रो आम्दानी हुने देखेपछि पहाडी क्षेत्रमा लगानी गरेको छु ।’
३० बर्षसम्म उत्पादन दिने अरबी जातका कफीका बिरुवा उहाँले लगाउनुभएको छ । उहाँले गत जेठ महिनामा बिउ जमाउनुभएको हो । यो जातको कफी तीन सय देखि एक हजार मिटर उचाइसम्ममा फल्ने उहाँले बताउनुभयो । कफीको उत्पादनसँगै प्रशोधन र विक्री वितरण पनि आफैंले गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । कफीको उत्पादनसँगै प्रशोधन गर्नको लागि कलकारखाना चाडैँ सञ्चालन गर्ने श्रेष्ठले बताउनुभयो ।

अहिलेसम्म उहाँले तीन करोड रुपैयाँ लगानी गर्नुभएको छ भने आफ्नै जग्गामा खेती गर्दै आउनुभएको छ । ‘यस क्षेत्रमा चेपाङ र तामाङ समुदायको बस्ती छ । यहाँका ३५० घरधुरीलाई मैले प्रतिपरिवार करिब १५ सय बिरुवा दिएको छु । यसले यी समुदायका मानिसहरुको जिवन स्तर सुधार हुने विश्वास छ,उहाँले भन्नुभयो ।’

उहाँले किसानलाई बिउ वितरण गर्नुका साथै किसानलाई कफी खेती सम्बन्धी तालिमसमेत दिदैँ आउनुभएको छ । हालसम्म उहाँले दुई सय जनालाई तालिम दिइसक्नुभएको छ । नगरपालिकाबाट हालसम्म कुनैपनि किसिमको अनुदान नलिएको भन्दै उहाँले सरकारबाट खसै केही अपेक्षा नराखेको सुनाउनुभयो । नगरपालिकासँग समन्वय गरेर वडा नम्वर १०, ११, १२ र १३ मा छ लाख कफीको बिउ वितरण गरिएको उहाँको भनाई छ ।

श्रेष्ठको पाँच बिगाह जमिनमा कफी, एभोकाडो, आँप, सुन्तलालगायतका बिरूवाहरू लगाएका छन् । मास्केका अनुसार अहिले रोपेको बिरुवाले बढीमा तीन वर्षमा उत्पादन दिन थाल्छ । त्यसपछि ३५ देखि ७० वर्षसम्म उत्पादन दिइराख्छ ।‘मैलै रासायनिक विषादीको प्रयोग नगरी उत्पादन गर्न आग्रह गरेको छु । नेपालमा कफीको उत्पादन अहिले असाध्यै कम छ । बजार बढ्दै गएको छ । आयात प्रतिस्थापन गर्न पनि हामीले ठूलो मात्रामा कफी उत्पादन गर्नुपर्छ,’ श्रेष्ठ भन्नुहुन्छ, ‘यहाँको माग पूरा भएपछि निर्यात पनि गर्न सकिन्छ ।’

समुद्र सतहदेखि ५ सय मिटर उचाईमा राम्रो उत्पादन हुन्छ । यसको उत्पादन एक सिजनमा प्रतिबोट कम्तीमा दश किलो हुन्छ । राम्ररी स्याहार गरे उत्पादन बढी हुन्छ । ‘अहिले बजारमा प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ,’ श्रेष्ठ भन्नुहुन्छ, ‘मकै र कोदो उत्पादनले आफैंलाई खान पनि पुगेको छैन । जीवन चलाउन विदेश जानुपर्ने बाध्यता कफी खेतीले हटाउँछ ।’

राप्ती नगरपालिका वडा नम्वर–१ का वडाअध्यक्ष सिद्धिलाल स्याङतानले राप्ती कफी खेतीको लागि प्रचुर सम्भावना भएपनि उपयुक्त योजना बनाउन नसकिएको गुनासो गर्नुभयो । अध्यक्ष स्याङतान पर्याप्त बजेटको अभावका कारण कफी खेती सुरु नहुदैँ विस्तापित हुन्छ कि भन्ने डर रहेको बताउनुभयो ।

 

नगरपालिकाले यस क्षेत्रको विकासमा चासो नदिँदा खेती किसानीका साथै पर्यटकिय विकासमा परेवाकोट ओझेलमा परेको उहाँले बताउनुभयो । परेवाकोट पूर्वपश्चिम राजमार्गको लोथरदेखि ९ किलोमिटर उत्तर तर्फपर्छ । यो ठाउँ ९ सय ८० मिटरको उचाईमा अवस्थित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>