राजनीति

मन्त्रिपरिषदका निर्णयः ८० मिलियन डलर ऋण लिनेदेखि खेलकुदमन्त्रीको वैदेशिक भ्रमण स्वीकृतसम्म

Banner

काठमाडौँ, असार १०-
सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ।

सोमबार मन्त्रीपरिषद् बैठकका निर्णण सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी दिएकी हुन्।

उनका अनुसार सरकारले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पको कारण भएको क्षतिको पुनर्निमाण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको हो।

त्यस्तै, सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०८१/३/९ को पत्रानुसार नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालको वरुद्धमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता भएको हुँदा प्रचलित कानूनबमोजिम निज स्वतः निलम्वन हुने र हाललाई राष्ट्रिय योजना आयोगमा राजत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको पद सिर्जना गर्ने र निज डा. वैकुण्ठ अर्याललाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको छ।

त्यस्तै, सरकारले नेपाल र चीनविच द्विपक्षीय परामर्श संयन्त्रको १६ औं बैठक २०८१ असार १० देखि १२ सम्म काठमाडौंमा आयोजना गर्ने र उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरी उक्त बैठकको कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यस्तै, सरकारले २०८१ असार २७ गतेदेखि २९ सम्म चीनको बेइजिङमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा अर्थमन्त्रीको भ्रमण स्वीकृत गर्ने, आर्थिक वर्ष २०८०/८१ मा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानतर्फ विनियोजन भएको कुल रकम ८७ अर्ब ३५ करोड २९ लाखको त्रियानब्बे प्रतिशतले हुने रकम ८१ अर्ब २३ करोड ८१ लाखमध्ये ६४ अर्ब २४ करोड ५९ लाख हस्तान्तरण भएकोले हस्तान्तरण हुन बाँकी रकम १६ अर्ब ९९ करोड २२ लाखलाई स्थानीय तहमा सोही अनुपातको आधारमा हस्तान्तरण गर्ने निर्णय गरेको छ।

त्यस्तै, विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा. रामप्रसाद धिताल, (सिन्धुपाल्चोक) तथा रिक्त २ सदस्य पदमा डा.मधुसुधन अधिकारी (काठमाडौं) र झमकप्रसाद शर्मा, (संखुवासभा) लाई नियुक्त गर्ने, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा.राजेन्द्रप्रसाद यादव, (सप्तरी) लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिको लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने, अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य कार्यक्षेत्र रहने गरी सञ्जीवकुमार शर्मा र भिक्टोरिया राज्य कार्यक्षेत्र रहने गरी निराजन गौलीलाई अवैतनिक वाणिज्यदुत नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको १५ शैय्याको अस्पतालको भवन निर्माण, यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासको भवन निर्माण र सरावल गाउँपालिकाको वडा कार्यालय तथा प्रशासकीय भवन निर्माणका लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने, साझा प्रकाशन (सहकारी संस्था लि)को सञ्चालक समितिको सदस्य पदमा रमेशप्रसाद भट्टराई, (काठमाडौं) लाई तोक्ने, समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उद्धवप्रसाद तिमल्सेना, ९काठमाडौं० लाई मनोनयन गर्ने, धादिङ र गोरखा जिल्लामा रहेको श्री ५ को वायु गुठीका जग्गाहरुको अध्ययन गरी समस्या समाधानार्थ तीन महिना भित्र राय सुझावसहितको प्रतिवेदन पेस गर्न पद्मनिधि सोतीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै, सरकारले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना अन्तर्गत पुर्कोटदह– म्यालपोखरी–सिर्सेनी सडकखण्डमा पर्ने गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नं।२, ४ र ६ का घरटहरारसंरचनाहरू क्षतिपूर्ति दिई हटाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, मिति २०८१ असार १४ गतेदेखि २० गतेसम्म गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि युवा तथा खेलकुदमन्त्रीको वैदेशिक भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>