चितवन विशेष
होली भिजनमा क्लबहरुको निर्वाचन सम्पन्न

चितवन, जेठ ५-
स्थानीय र संसदीय निर्वाचनको झल्को दिने गरी भरतपुरको होली भिजन पब्लिक स्कुलमा शुक्रवार विभिन्न क्लबहरुको निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचनको लागि गठन भएको निर्वाचन समितिले दिएको जानकारी अनुसार शुक्रवार युवा रेडक्रस, नाटा क्लव, ईको क्लव, आईटी क्लव, प्रिफेक्ट क्लव, स्पीकर्स क्लव र आई क्यु क्लवको निर्वाचन सम्पन्न भएको हो ।
मतदातालाई मतपत्र हस्तान्तरण गरेर निर्वाचन शुभारम्भ गर्दै विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले निर्वाचनको महत्वबारे प्रकाश पारेका थिए । उनले निर्वाचनको महत्व बुझेर जिम्मेवारपूर्ण तरिकाले मतदान गर्न सबैलाई आग्रह गरेका थिए ।
विद्यार्थीहरुलाई जिम्मेवार बनाएर शैक्षिक शत्र २०८१ सालका विभिन्न शैक्षिक गतिविधिहरुलाई व्यवस्थित रुपले अगाडि बढाउने उद्देश्यले लोकतान्त्रिक प्रक्रियाअनुसार क्लबहरुको निर्वाचन गरिएको प्रमुख निर्वाचन अधिकृत केशव भट्टराईले जानकारी दिए ।
निर्वाचनको लागि सात ओटा मतपेटिका राखिएको थियो भने मत पत्रहरु तयार गरी स्वस्तिक चिन्ह लगाएर मतदान गर्ने व्यवस्था गरिएको थियो । अघिल्लो दिन नै उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गरी मतदाताहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हुनाले मतदान कार्य सहज भएको निर्वाचन अधिकृत गोपाल कंडेलले जानकारी दिए ।
मतदान स्थलमा व्यवस्थित रुपले मतदान गर्ने व्यवस्था मिलाईएको थियो भने पर्यवेक्षकहरुले पनि मतदान स्थलमा अनुगमन गरेका थिए । निर्वाचनमा निर्वाचन आचारसंहिता जारी गरी गरिएको थियो । स्वयमसेवकहरुले मतदाताहरुलाई आवश्यक सहयोग गरिरहेका थिए भने मतदाताहरु खुशी भएर मतदान गरेका थिए ।
‘मतदानको कुरा सुनिएको थियो । आज प्रत्यक्ष सहभागी भएर मतदान गर्न पाउँदा खुशी छौँ, हामीलाई निर्वाचन सम्बन्धी पाठ बुझ्न सजिलो भयो’ कक्षा ६ मा अध्ययनरत सम्पदा कंडेल र प्रेजु कंडेलले बताए।
निर्वाचन कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए । होली भिजन पब्लिक स्कुलले हरेका वर्ष लोकतान्त्रिक प्रक्रियामार्फत विभिन्न क्लबहरुको निर्वाचन गरी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।