चितवन विशेष

विद्युतिय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन

Banner

माडी,जेठ १-

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतिय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ । निकुञ्जका वन्यजन्तु बाट जोगिन लगाइएका विद्युतिय तारबारबाट मानविय क्षति हुन नदिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको हो ।

सोमबार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र अन्तर्गत अयोध्यापुरी मध्यवर्ती उपभोक्तासमिति माडी नगरपालिका–८ मा विभिन्न उपभोक्ता समितिका सोलार तारबार हेरालुलाई खतरा सूचना बोर्ड, साइरन मेसिन र सुरक्षाका सामाग्री हस्तान्तरण गरिएको छ । सामाग्री हस्तान्तरण गर्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विद्युतिय तारबारबाट जोगिन बेलैमा सचेत बन्नुपर्ने र समुदायस्तरमा पनि जनचेतना फैलाउनुपर्ने बताउनुभयो । समुदायमा जनचेतना दिँदै मानविय दुर्घटना न्यूनिकरणका लागि सुरक्षा सामाग्रीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । मध्यवर्तीका नागरिकलाई निरन्तर सचेतना कार्यक्रम गरिरहेको उहाँको भनाई छ ।

२०८० साल असोज २५ माडी नगरपालिका वडा नम्वर ९ कृष्णनगरका बिकल्प सुवेदीको विद्युतिय तारबारको झड्का बाट मृत्यु भएको थियो । त्यसपछि स्थानीयलाई विद्युत छाडेको जानकारी दिन साइरन र नछुन अनुरोध गर्दै सूचना बोर्ड राखिएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताउनुभयो । हात्ती, गैडा, बाघ लगायतका वन्यजन्तु निकुन्जबाट मानव वस्तीमा प्रवेश नगरुन भन्ने उदेश्यले विद्युतिय तारबार जडान गरिएको उहाँले जानकारी दिनुभयो । । यो क्षेत्रमा झण्डै १२ किलोमिटर क्षेत्रमा विद्युतिय तारबार जडान भएको गायकले बताउनुभयो । बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म तारमा विद्युत छाडिन्छ । ‘अब विद्युत छाड्नु अघि साइरन बज्छ,उहाँले भन्नुभयो,ठाउँ ठाउँमा यो तार छुन हुन्न भनेर बोर्ड समेत टाँस गर्नेछौं । ’

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, रेवा मध्यवर्ती उपभोक्ता समिति,बघौडा मध्यवर्ती उपभोक्ता समिति र पर्सा जिल्लामा रहेको निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिलाई सामाग्री हस्तान्तरण गरिएको हो । यस्तै उनिहरुलाई सुरक्षा सामाग्री लाइट, रेनकोट, बुट जुत्ता, बिजुलीको तार छुने टेस्टर, हम्मर, पिलास,झोला लगायतका सामाग्री समेत वितरण गरिएको छ । तराई भू–परिधि कार्यक्रम(ताल) को सहयोगमा सामाग्री हस्तान्तरण गरिएको हो । यो क्षेत्रमा सोलार फेन्स जडानपछि ठूला बन्यजन्तुको प्रबेश र क्षति कम भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>