खेलकुद
बागमती प्रदेश टेकबल संघको अध्यक्षमा राजन कुमार श्रेष्ठ

काठमाडौँ, वैशाख ३०-
बागमती प्रदेश टेकबल संघको अध्यक्षमा राजन कुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भक्तपुरमा सम्पन्न संघको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशका बोर्ड सदस्य र टेकबल संघका केन्द्रीय अध्यक्षको उपस्थितीमा नयाँ कार्यसमितिको उपाध्यक्षमा बिदुर कंडेल, सचिवमा माधवी बोस, कोषाध्यक्षमा रविन्द्र लाछिमस्यु रहेको १३ सदस्य कार्यसमिति चयन गरेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार गठन भएको बागमती प्रदेश टेकबल संघको तदर्थ समितिले बनाएको बिधानलाई सर्वसम्मत रुपमा पारित गरी नयाँ कार्य समिति बनेको हो । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्ष रहने छ ।
नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै बागमती प्रदेश खेलकुद विकास परिषद बोर्ड सदस्य सुनिता गौतमले परिषदको तर्फबाट टेकबलखेल बिकास र बिस्तारमा सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।
नेपाल टेकबल संघका केन्द्रीय अध्यक्ष सुवास श्रेष्ठ निर्वाचित पदाधिकारीलाई बधाई दिदै, बागमती प्रदेश टेकबल संघ गठनले नेपालमा टेकबल खेलको विकासमा थप सहयोग पुग्ने आशा ब्यक्त गरे । बागमती प्रदेश देशकै राजधानी र धेरै टेकबल खेलाडी रहेको प्रदेश रहेकोले संघको गठनले अझ खेलकुद विकासमा देशलाई ठुलो सहयोग हुने उनले बताए । आगामी आर्थिक वर्षमा बागमती प्रदेशका १३ वटै जिल्लामा जिल्ला टेकबल संघ र पालिका स्तरीय संघ गठन गर्ने निर्णय समेत गरिएको छ ।
केन्द्रिय अध्यक्ष सुवाश श्रेष्ठले अब १ महिना भित्र काठमाडौंमा ठुलो कार्यक्रमको आयोजना गरी राखेपमा दर्ता गर्ने र अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गर्नुभयो ।