चितवन विशेष

पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्रीमा सिमित गर्न चुनौती रहेको भन्दै विज्ञको चिन्ता

Banner

चितवन, वैशाख २९-

वातावरण विज्ञले पृथ्वीको बढ्दो तापक्रम १.५ डिग्रीमा सिमित गर्न चुनौती रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विश्वका वैज्ञानिकहरुले सन् २०५० सम्ममा पृथ्वीको तापक्रम वृद्धिदर औषतमा १.५ डिग्री भन्दा बढ्न नदिने प्रतिबद्धता गरेका थिए तर सो प्रतिबद्धता पूरा गर्न नसकिने अवस्था रहेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका हुन् ।

पृथ्वीको औषत तापक्रम १४.८ रहेको छ जुन औद्योगिक समाज पूर्व त्यती पनि थिएन । तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा कायम गर्न नसकिने अवस्था आएको भन्दै वातावरण विज्ञ चिन्तित छन् ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले शुक्रबार गरेको जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणको रणनीति सम्बन्धी कार्यशाला गोष्ठीमा विज्ञले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

एरिजोना स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक डा. नेत्रबहादुर क्षेत्रीले पूर्व–औधोगिकिकरणको तुलनामा पृथ्वीको सतहको औषत तापक्रम १.५ डिग्री सेल्सियस कायम गर्न चुनौतीहरु रहेकोले यसबाट पर्न सक्ने नकारात्मक प्रभाव अनुमान गर्न नसकिने अवस्था रहेको बताएका छन् । उनले भनेका छन्, ‘सन् १८५० को दशकदेखि विश्वमा तीव्र औधोगिकरण सुरुवात भएपछि खनिज इन्धनको ब्यापक प्रयोग बढेसँगै बायुमण्डलमा हरितगृह ग्याँस कार्बनडाईअक्साइडको मात्रा २७० पीपीएम इक्युभेलेन्ट बाट बढेर सन् २०२१ सम्ममा ४७२ पीपीएम इक्युभेलेन्ट पुगेको छ ।’

कार्यक्रममा प्राध्यापक डा. क्षेत्रीले जलवायु परिवर्तनको विज्ञान, हरितगृह ग्याँस उत्सर्जनको विश्वव्यापी अवस्था तथा भविश्यको प्रक्षेपण, प्रभाव न्यूनीकरणका लागि व्यक्ति र समुदायका तर्फबाट गर्न सकिने प्रयासहरु प्रष्ट पार्नुका साथै स्थानीय तथा केन्द्रीय सरकारले अबलम्बन गर्नुपर्ने नीतिगत प्रयासका बारेमा जानकारी गराए ।

जलवायु परिवर्तनको बहुआयामिक आयामहरू अन्वेषण गर्दै, कार्यशालाले पृथ्वीको जलवायु प्रणाली र यसको सामाजिक प्रभावहरूको जटिलतामा गहिरो रूपमा अध्ययन गरेको छ । जलवायु र मौसम बीचको आधारभूत भिन्नताको साथ सुरु गर्दै, सहभागीहरूले हरितगृह प्रभावको विज्ञानको बारेमा जानकारी प्राप्त गरे । साथै कार्यशालामा हरित गृह ग्यासको उत्सर्जनमा सूक्ष्म क्षेत्रीय भिन्नताका बारेमा जानकारी गराइयो ।

कार्यशालाले हाम्रो ग्रहको जलवायु नियमनमा यसको महत्वपूर्ण भूमिकालाई जोड दिँदै कार्बन चक्रको विस्तृत बुझाइ प्रदान ग¥यो। यसबाहेक, सहभागीले जलवायु अनुसन्धानमा आधारित वैज्ञानिक विधिहरूमा जानकारी प्राप्त गरे, विशेष गरी नेपाल जस्ता जोखिममा रहेका क्षेत्रमा अनुकूलन र न्यूनीकरण प्रयासहरूको तत्काल आवश्यकतालाई जोड दिएको छ ।

जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि रणनीतिको रुपमा वनजंगलको संरक्षण मार्फत कार्बन ट्रयापिङ बढाउने, वैकल्पिक उर्जाका स्रोतमार्फत् खनिज इन्धनको प्रतिस्थापन गर्ने, हरित गृह ग्यासको उत्सर्जनलाई कम गर्ने, विकास र वातावरणको सन्तुलनका लागि दिगो विकासको अवलम्बन गर्नेलगायत गर्न सकिने बताएका छन् ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसकको वातावरण विज्ञानका सहायक प्राध्यापक ध्रुव आचार्यले नेपालमा जलवायु परिवर्तनले जीविकोपार्जनका क्षेत्र जस्तै कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, पानीका स्रोत र उर्जा उत्पादन, मानब स्वास्थ्य, जलबायु उत्पन्न प्रकोप, स्थानीय पूर्वाधार लगायतमा प्रभाव पारेको बताए । बिगत केही दशकदेखि पानी पर्ने दर र प्रक्रियामा फेरबदल आएको, पृथ्वीको सतहको औसत तापक्रम बढेको, हिमालमा हिउँ रित्तिदै गएको, नयाँ नयाँ रोग किराहरुको प्रकोप बढेको, विपद्जन्य घटनाहरु र त्यसबाट हुने क्षति बढेको, जैविक विविधताको लोप हुँदै गएको अवस्थाको बारेमा जानकारी दिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका बरिष्ठ उपाध्यक्ष रमाकान्त सापकोटाले वर्तमान समयमा विश्वमा देखा परेका वातावरणीय समस्याका घटनाक्रमहरु सम्झदै कार्यक्रमले अन्तर्राष्ट्रियस्तरको विषय बिज्ञ पाएको र उहाँको ज्ञानको भरपुर उपयोग गर्दै, विद्यार्थीहरुले नयाँ कुरा सिक्न सुन्ने, बोल्ने र प्रश्न गर्न सक्नु पर्ने धारणा ब्यक्त गरे ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष मधुर नेपालले जलवायु परिवर्तनको विश्वब्यापी प्रभावलाई कम गर्न सबै तह र तप्काबाट लाग्नुपर्ने बताउँदै यस्ता कार्यक्रमले जलबायु अनुकुलनका क्षेत्रमा विद्यार्थीहरुको ब्यवहारिक ज्ञान, सिप तथा क्षमता अभिबृद्धि हुने आशा व्यक्त गरे ।
कार्यक्रममा क्याम्पस प्रमुख खिमलाल दाहालले विज्ञान विभागले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीको ज्ञानमा अभिबृद्धि हुने र सरोकारवाला सबैको प्रयासबाट अहिले विश्व समुदायले भोगेको बाताबरणीय प्रदूषण तथा जलबायु परिवर्तनसँग जुध्ने क्षमताको विकास हुने हुँदा यस्ता रचनात्मक कार्यक्रममा क्याम्पसको सधैँ साथ र सहयोग हुने बताए । उनले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन अनुसन्धानात्मक कार्यक्रममा क्याम्पसले लगानी गर्ने नीति लिएको उनको भनाइ छ ।

यस कार्यक्रमले सहभागीलाई विश्वव्यापी चुनौतीको रुपमा रहेको जलबायु परिवर्तनको समाधानहरूबारे वैज्ञानिक ज्ञान हाँसिल गरी समुदायमा सकारात्मक परिवर्तनलाई प्रभाव पार्ने उपकरण र प्रेरणा प्रदान गरेको छ । कार्यशालाको अध्यक्षता गरेका विज्ञान विभागका विभागीय प्रमुख रविराज सुबेदीले विषय बिज्ञ तथा दिँदै, उक्त कार्यक्रममा सिकेका ज्ञान तथा सिपलाई ब्यक्तिगत जीवनमा समेत उतार्न सहभागीलाई आग्रह गरे ।

सप्तगण्डकी क्याम्पसको विज्ञान विभागको आयोजना तथा अनुसन्धान व्यवस्थापन सेलअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शुक्रबार सो कार्यशाला गरिएको हो । कार्यशालाको प्रमुख उद्देश्य विद्यार्थी, सरोकारवाला तथा विषय विज्ञबीच अन्तरक्रिया गरी अहिले नेपाललगायत विश्व समुदायले भोग्दै आएको जलवायु परिवर्तन, यसको नकारात्मक प्रभावको न्यूनीकरण तथा अनुकुलनका लागि आवस्यक ज्ञान, सिप र क्षमता हासिल गर्ने रहेको छ । कार्यशालामा विद्यार्थीहरु, प्राध्यापकहरु, कर्मचारीहरु गरी करिब ५५ जनाको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>