चितवन विशेष

कालिका नगरपालिका स्थापनाको सात वर्षपछि नगर प्रहरीको सेवा सुरु

Banner

चितवन, वैशाख २९-

चितवनको कालिका नगरपालिका स्थापना भएको सात वर्षपछि नगर प्रहरीको सेवा सुरु गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने व्यवस्था गरेको छ ।

नगरबासीको सुरक्षाको लागि स्थानीय सरकारले नगरप्रहरीको व्यवस्था गरिएको कालिका नगरपालिकाले बताएको छ । सो नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षक र आठ जना नगर प्रहरी जवान भर्ति गरी सेवा सुरु गरेको हो ।

शुक्रबार आयोजित नगर प्रहरीको तालिम समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले नगरप्रहरीहरुलाई गोपनीयतको सपथग्रहण गराए । सपथ लगतै नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएर प्रमाणपत्र प्रदान गरे।

नगरपालिकाले नगर प्रहरीको लागि सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो । दरखास्त दिनेहरुमध्ये नौ जनालाई छनौट गरी १५ दिनको तालिम दिएर काममा खटाइएको हो ।

१५ दिने तालिममा नगर प्रहरीको काम, कर्तब्य र अधिकार सहित कबज, इन्डोर, आत्मरक्षा, जनसम्पर्क, दैविक प्रकोप लगायतका विषयहरुमा तालिम गराइएको थियो । सो अवसरमा मेयर रेग्मीले कालिका नगरबासीको सुरक्षाको लागि नगरप्रहरी भर्ति गरी काममा खटाइएको बताए । नगरप्रहरी सञ्चालन ऐन र कार्यविधि बनाएर नगरप्रहरी भर्ति गरिएको भन्दै सेवामा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।

नगरपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै निकट भविष्यमा फोहोर संकलन र व्यवस्थापनको समेत काम सुरु गर्ने उनले बताए । फोहोर संकलन र व्यवस्थापनको लागि कार्यविधि निर्माण भइसकेको उनको भनाई छ । साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेठ ७ गते नगरपालिका घोषणा गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>