देश/प्रदेश

विश्व मृर्गौला दिवस – डायलायसिस भन्दा प्रत्यारोपण उपयुक्त

Banner

काठमाडौँ,  चैत १ –

मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मृर्गौला दिवस मनाइँदै छ ।

वरिष्ठ मृर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले बढ्दो उमेरसँगै देखिने मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले मृर्गौला लाई असर गर्ने बताउनुभयो । विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या हुने गरेको छ । सोहीअनुसार नेपालमा पनि करिब ३० लाख जनालाई मृर्गौला सम्बन्धी कुनै न कुनै रोग रहेको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार नेपालमा तीन लाख जनाको मृर्गौला बिग्रिन थालेको, ३० हजार जनाको नराम्रोसँग बिग्रिसकेको र तीन हजार जना मृर्गौला रोगको अन्तिम चरणमा रहेका छन् । उहाँले ती तीन हजार जनाको मिर्गौलाको प्रत्यारोपण वा डायलायसिस गरेर मात्र उपचार सम्भव रहेको बताउनुभयो ।

उहाँले सरकारले मिर्गौला रोगको उपचारमा केन्द्रित भए पनि महँगो उपचारका कारणले सर्वसाधारणको पहुँच पुग्न नसकेको बताउनुभयो । सरकारले मृर्गौला सम्बन्धी बिरामीका लागि निःशुल्क डायलायसिस र प्रत्यारोपण गर्ने गरेको छ । साथै डायलायसिस र मृर्गौला प्रत्यारोपण गरेकालाई मासिक रु पाँच हजारसमेत दिने गरिएको छ । “सरकारले मृर्गौला का बिरामीको उपचारका लागि प्रदेश, जिल्ला र स्थानीय तहमा डायलायसिस निःशुल्क पुर्याएको छ”, उहाँले भन्नुभयो, “हामी उपचारमा केन्द्रित भएका छौँ, तर रोकथाम भएन ।” उहाँका अनुसार बर्सेनि आठ हजारले डायलायसिस गर्ने गरेका छन् ।

मृर्गौला  बिग्रेको कसरी थाहा पाउने

वरिष्ठ मृर्गौला रोग विशेषज्ञ डा काफ्लेका अनुसार पिसाबबाट प्रोटिन गएपछि  रगतमा क्रिएटिनिन बढ्यो भने मृर्गौला बिग्रने गर्दछ । मृर्गौला ले शरीरमा भएका विषाक्त पदार्थ र अनावश्यक पानीलाई शरीरबाट फाल्ने काम गर्छ । मृर्गौलाले रगत उत्पादन गर्ने काम गर्नुका साथै भिटामिन ‘डी’ र क्याल्सियमलाई सन्तुलन मिलाएर राख्ने काम गर्छ । मृर्गौला ले शरीरबाट नचाहिने तत्व फिल्टर गरेर फालेर शरीरलाई स्वस्थ राख्ने गर्दछ । मृर्गौला ले गर्नुपर्ने काम गर्न सकेन भने त्यसलाई मृर्गौला बिग्रेको भन्ने बुझिन्छ ।

विशेषज्ञ डा काफ्लेले अधिकांश व्यक्ति मृर्गौला बिग्रेपछि मात्र उपचार गर्न आउने गरेको बताउनुहुन्छ । “सुरुको अवस्थामा मृर्गौला बिग्रेका बिरामीलाई थाहा हुँदैन, जब मृर्गौला बिग्रिसकेको हुन्छ अनिमात्र बिरामी अस्पतालमा आउने गर्दछन्”, उहाँले भन्नुभयो, “ मृर्गौला को सुरुको चरणमा पत्ता लगाएर उपचार गर्न पाइयो भने उपचार सम्भव हुन्छ ।” उहाँले सबैको वर्षमा एकपटक अनिवार्यरूपमा पिसाब परीक्षण गराउनुपर्ने बताउनुभयो ।

मृर्गौला  प्रत्यारोपण नै यसको उपयुक्त उपचार

मृर्गौला  बिग्रेपछि डायलासिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त हुने चिकित्सकहरू बताउनुहुन्छ । डायलायसिस गरेपछि मानिसले काम गर्न नसक्ने र हप्तामा दुई÷तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ । त्यसले गर्दा महँगो पर्ने जान्छ । मृर्गौला प्रत्यारोपण गरेका व्यक्तिले काम गर्न सक्ने र जीवन पनि सहज हुन्छ ।

सरकारले मृर्गौला प्रत्यारोपण निःशुल्क गर्ने गरेको छ । मृर्गौला को प्रत्यारोपणका लागि बिरामीलाई काठमाडौँ आउनुपर्ने बाध्यता रहेको छ । नेपालमा सरकारी अस्पतालमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिन्छ ।

केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठे मृर्गौलाका बिरामीले ९० प्रतिशत मृर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने हुँदा डायलायसिसभन्दा प्रत्यारोपण गर्नु नै उपयुक्त रहेको बताउनुहुन्छ । उहाँका अनुसार केन्द्रमा वार्षिक करिब दुई सय बिरामीको मृर्गौला प्रत्यारोपण हुने गरेको छ । केन्द्रले अहिलेसम्म एक हजार दुई सय १६ जनाको मृर्गौला प्रत्यारोपण गरिसकेको उहाँ बताउनुहुन्छ । वीर र शिक्षण अस्पतालले सन् २००८ देखि मृर्गौला प्रत्यारोपण सुरु गरेका हुन् । केन्द्रमा अहिले दैनिक एक सय ४० जनाको डायलायसिस हुने गरेको छ ।

निजी अस्पतालमा मृर्गौला प्रत्यारोपण गर्न रु १२ देखि १८ लाख लाग्ने गरेको छ । निजी अस्पतालमा नर्भिक अस्पताल, नेपाल मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताल, किष्ट अस्पताललगायतमा मृर्गौला प्रत्यारोपण हुने गरेको छ ।

वरिष्ठ मृर्गौला रोग विशेषज्ञ डा काफ्लेका अनुसार स्वच्छ जीवनशैली अपनाउनु नै मृर्गौला रोगबाट बच्नु रहेको छ । माछा, मासु, दूध र दही कम खाने, असन्तुलित खानेकुरा नखाने, दैनिक दश हजार पाइला हिँड्ने, प्रशस्त पानी र सागसब्जी खानुपर्ने सुझाव उहाँको छ । यस्तै अत्यधिक मात्रामा दुखाइका औषधिको प्रयोगले पनि मृर्गौलालाई असर गर्दछ ।

लक्षण

उहाँका अनुसार पिसाबको मात्रा घट्नु, अनुहार र आँखाका डिल सुन्निनु, शरीर सुन्निनु, पिसाबको मात्रा, गन्ध र रङमा परिवर्तन आउनुजस्ता समस्या देखिए मृर्गौलामा समस्या देखिएको हुनसक्छ । यस्तै सुरुमा थकान महसुस हुने, रगतको कमी हुने, वाकवाकी लाग्ने, फोक्सोमा पानी जम्मा भएपछि श्वास फेर्ने समस्या हुनेजस्ता मृर्गौला खराबीका लक्षण हुन् ।

बच्ने उपाय

उहाँका अनुसार प्रशस्त मात्रामा पानी पिउने र सन्तुलित खाना खाने गर्नु पर्दछ । मिर्गौलामा रोग लाग्न नदिन नियमितरूपमा मधुमेह तथा पिसाब परीक्षण गराउनुपर्दछ । आफ्नो इच्छाले एन्टिवायोटिक औषधि खानु हुँदैन । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>