चितवन विशेष
भरतपुर अस्पतालमा भएका सेवालाई व्यवस्थित गर्न पूर्वअध्यक्षहरुको सुझाव
![Banner](http://narayanionline.com/wp-content/uploads/2023/12/401328037_731238545561169_2497368139567966459_n.jpg)
चितवन, मंसिर १७–
भरतपुर अस्पतालमा सेवा विस्तार मात्र नभई भएका सेवालाई व्यवस्थित गर्न अस्पतालका पूर्वअध्यक्ष र पूर्व मेसुहरुले सुझाव दिएका छन् ।
अस्पतालमा बिरामीले घण्टौ लाइन बसेर उपचार गराउन बाध्य रहेको भन्दै सामान्य स्तरबाटै व्यवस्थापनका लागि नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट (मेसु)लाई सुझाव दिएका हुन् । अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारी र पूर्व मेसु डाक्टर रुद्रप्रसाद मरासिनीले मेसु डाक्टर श्रीराम तिवारीलाई भेटेर अस्पतालको विकाससंगैबिरामीको समस्यामा गम्भीर हुन आग्रह गरेका हुन् । पूर्वअध्यक्ष राजभण्डारीले नयाँ पूर्वाधार र सेवाको विकाससंगै ब्यवस्थापनको पाटोमा ख्याल गर्नुपर्ने बताए । ‘अस्पतलको हरेक सेवालाई विपन्न नागरिकलाई सम्झेर ब्यवस्थापन गर्न जरुरी छ,’ उनले भने ‘पहिल्यैदेखि जनताको गुनासो नभएको होइन । जिम्मेवार पक्षले त्यस्ता कुरामा कम चासो दिएको होकि झै लाग्यो । नयाँ मेसुलाई सबै जानकारी सहित सुझावको रुपमा आग्रह गरेको छु ।’
पूर्व मेसु डाक्टर रुद्र प्र्साद मरासिनीले सेवामा भरतपुर अस्पताल अब्बल रहेको बताउँदै त्यसको ब्यवस्थापन महत्त्वपूर्ण रहेको बताए । ‘सेवा बिस्तारमा भरतपुर अस्पताल धेरै राम्रो छ । अस्पतालबाट बिरामीको सेवामा धेरै वर्ष बिताए । मैले तीन वर्ष मेसुको रुपमा काम गरे । त्यो बेलादेखि अहिलेसम्म धेरै फरक छ । तर भएका सेवालाई गुनासो नआउने गरि काम गर्नुपर्ने देखेको छु ।’ उनले भने ‘केबल यहि भएका सानो सानो कुरामा ख्याल गरेर काम गरे बिरामीले सहज सेवा पाउने थिए । हाम्रो सुझाव नै यहि हो ।’
अस्पतालका मेसु डाक्टर श्रीराम तिवारीले अस्पतालमा बिरामीको लाइन अन्त्य गर्ने बताए । ‘मैले अस्पतालको सेवालाई प्रभावकारी बनाउने गरी जिम्मेवारी लिएर आएको हुँ’ डाक्टर तिवारीले भने ‘सेवा लिन आएका बिरामीले सहज र सरल तरिकाबाट सेवा पाउने गरि हामी काम गर्दै छौ ।’
पूर्व अध्यक्ष तथा मेसुहरुले अस्पतालमा भएका पछिल्लो गतिविधि बारे जानकारी लिएका थिए । अस्पतालको हितका लागि जस्तोसुकै परिस्थितिमा बिचलित नहुन आग्रह गरेका थिए । त्यसक्रममा नेपाल लोकतान्त्रिक खेलकुद महासङका केन्द्रीय महासचिव सुबोध प्रधानले गरिबले महसुस गर्ने गरि सेवा प्रवाह गर्न आग्रह गरे । अस्पताल बिकास समितिका सदस्य डिल्लीराम लामिछाने ‘मिलन’ले विकास समिति अस्पतालको सेवालाई चुस्त दुरुस्त बनाउन लागि परेको बताए ।