Breaking News

चितवनमा डेँगुको संक्रमण बढ्दै, साउन यता ३६९ जना संक्रमित

Banner

निरुता विक

चितवन, असोज ४–

चितवनमा साउन यता ३६९ जनामा डेँगुको संक्रमण देखिएको छ ।

चार हजार ७३० जनाको परीक्षण गर्दा ३६९ जनामा डेँगुको संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनले आज प्रकाशित गरेको तथ्यांकअनुसार साउन १ देखि असोज ४ गतेसम्म चार हजार ७३० जनाको परीक्षण गर्दा ३६९ जना संक्रमितहरु भेटिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बिगत २४ घण्टामा ३ जना संक्रमित भएका छन् । संक्रमितहरु मध्ये सबै भन्दा धेरै संक्रमित हुनेको संख्या भरतपुर महानगरपालिकामा रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकाका ११९ जना, खैरहनी नगरपालिकाका २५ जना, माडी नगरपालिकाका ४, रत्ननगर नगरपालिकामा ४७ जना, राप्ती नगरपालिकामा २६जना, कालिकामा ५जना र इच्छाकामनाका चार जना रहेका छन् । त्यसैगरी चितवनमा भेटिएका संक्रमितहरु मध्ये ठेगाना नखुलेका४६ जना र अन्य जिल्लाबाट आएका ९३ जना रहेका छन् ।

भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार डेँगुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । उनले भने, ‘डेँगुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । यसका लागि लामखुट्टेको वृद्धि विकासलाई रोक्नु पर्छ । घर वरीपरी सरसफाईमा ध्यान दिनुपर्छ । घरवरिपरी पानी जम्ने वस्तुहरु केही भए हटाउनुपर्छ ।’

लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टोक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्ने डा पौडेलले सुझाव दिएका छन् । साथै लामखुट्टेलाई बाहिरबाट भित्र छिर्न नदिने, जाली ढोकाको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । उनले डेँगुबाट संक्रमित भएमा चिकित्सकको निरन्तर सल्लाह लिएर सहयोगी प्रकारको उपचार लिन सुझाव दिए ।

डेँगु के हो ? कसरी सर्छ ?

डेँगु एक भाइरसको कारणले हुने रोग हो । ट्रपिकल र सब ट्रपिकल क्षेत्रहरुमा अधिक रुपमा यो रोग देखा पर्छ । वर्षात्को मौसममा डेँगु फिवरको प्रकोप धेरै बढ्ने गर्छ । डेँगु रोग फैलाउने लामखुट्टेले विशेषगरी दिनको समयमा टोक्ने गरेको पाइन्छ । डेँगु सार्ने लाम्खुट्टेहरु जमेको पानीको वरपर बस्ने गर्छन् ।
डेँगु एक प्रकारको भइरल इन्फेक्सन हो । जसलाई चार प्रकारमा वर्गीकरण गरिएको छ । जसमा डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४ पर्छन् । संक्रमणको लक्षणहरु लामखुट्टेले टोकेको चार देखि १० दिनपछि मात्र देखा पर्छन् । संक्रमित बिरामीलाई समय मै अस्पातल पु¥याउन सकेको खण्डमा नियन्त्रण गर्न सकिन्छ ।

अहिलेसम्म डेंगुको लागि कुनै विशेष औषधि बनिसकेको छैन । यद्यपि डेँगु संक्रमणले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ । डेँगुले संक्रमित व्यक्तिहरुमा रुघाखोकी र तीव्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खलखली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिँगटा लाग्ने हुन्छ । त्यस्तै, स्वास फेर्न अप्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिरा देखिने, शरीरका अंगहरुबाट रक्तस्राव हुने, डेँगु हेमोरेज फेबर, पिसाब रातो आउने, दिसाकालो हुने, बेहोस हुने, ब्लड प्रेसर कम (लो) हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगमा रक्तसञ्चार सुचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्छन् ।

गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथाअन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्न सक्छ । १० वर्षभन्दा कम उमेर समूहका बालबालिकामा यो रोग सर्ने प्रबल सम्भाबना हुन्छ । यो रोगको कारण ६ देखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्यु दर रहेको छ । एक वर्षभन्दा कम उमेरका बालबालिकालाई डेँगु रोग लागेको खण्डमा मृत्यु हुने सम्भावना बढी हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>