चितवन विशेष

चितवनमा कृषि विश्वविद्यालयको नाममा जग्गा आउन नसक्नु दुर्भाग्य: उपकुलपति रेग्मी

Banner

चितवन, जेठ २७-

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले सर्वाेच्च अदालते फैसला गरिसक्दा पनि कृषि विश्वविद्यालयले जग्गा पाउन नसक्नु दूर्भाग्य भएको बताएका छन् ।

निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयका आंगिक कलेजमा नवनियुक्त प्रिन्सिपलहरुका लागि गरिएको नेतृत्व विकाससम्बन्धी तीन दिने तालिमको उद्घाटन शत्रमा आज उनले सो गुनासो गरेका हुन् ।

‘सम्मानित सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा कृषि विश्वविद्यालयको नाममा दिन फैसला गरिसकेको छ’ उनले भने, ‘फैसला भएको लामो समयसम्म पनि विश्वविद्यालयको नाममा आउन नसक्नु दुर्भाग्य बनेको छ ।’ विश्वविद्यालयको आफ्नो विशेष महत्व भए पनि जनशक्ति अभाव लगायतका चुनौती भोगिरहनुपरेको उपकुलपति प्रा.डा. रेग्मीले बताए । जग्गा अझै त्रिभुवन विश्वविद्यालयको नाममा रहेको छ ।
उनले आंगिक कलेजले प्रदेश र स्थानीय सरकारसँगको सहकार्यलाई समेत प्राथमिकतामा राख्नुपर्ने विचार राखे । विश्वविद्यालयमा करिब एक हजार ८०० जनशक्ति आवश्यक भएपनि ७०० ले मात्र विश्वविद्यालय सञ्चालन गरिराख्नु परेको गुनासो गरे । कार्यक्रममा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.कल्याणी मिश्र त्रिपाठीले युवा अवस्थामै कलेजको नेतृत्व गर्ने अवसर पाउनु आफैंमा ठूलो कुरा भएकाले यसलाई सावधानीपूर्वक उपयोग गर्न सुझाइन् । डा. मिश्रले विश्वविद्यालयमा विद्यार्थी संख्या र गुणस्तर वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिन नवनियुक्त प्रिन्सिपलहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले यस्ता कार्यक्रम बहुउपयोगी हुने भएकाले प्रशासनिक काम गर्ने हुटहुटीलाई नतिजामुखी बनाउन सहयोग गर्ने बताइन् । तालिम तथा कार्यक्रमहरुमा गरिने लगानीले विश्वविद्यालयको हितमा नाफामूलक परिणाम आउने बताउँदै प्रशासनिक जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेकी थिइन् । कार्यक्रममा विश्वविद्यालयको कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ र युएसएआईडी एग्रिकल्चर हाइयर एजुकेशन परियोजनाका टिम लिडर प्रा.डा. नरकाजी गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव विष्णुप्रसाद सापकोटा, विश्वविद्यालयको कृषि संकायका डिन अर्जुनकुमार श्रेष्ठ, कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंगाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल लगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नेछन् । कार्यक्रममा आधारभूत प्रशासनिक विधिहरु, सार्वजनिक खरिद व्यवस्थापनका व्यवहारिक पक्ष, गुनासो व्यवस्थापन, विद्यमान आर्थिक तथा प्रशासनिक प्रावधान, विश्वविद्यालयको आन्तरिक नियन्त्रण प्रणालीलगायतका विविध विषयहरु समेटिएको संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले जानकारी दिए ।

कार्यक्रमले शैक्षिक संस्थाको नेतृत्व लिएका प्रिन्सिपलहरुको आर्थिक र प्रशासनिक कार्य सञ्चालन क्षमता बढाउन सहयोग पुग्ने निर्देशक डा. भट्टराईले बताए । कार्यक्रममा विश्वविद्यालयको कृषि संकाय र वन विज्ञान संकायका आंगिक कलेजका ८ जना प्रिन्सिपलहरुको सहभागिता रहेको छ । विश्वविद्यालयमा प्रिन्सिपलको कार्यकाल ४ वर्षको हुने प्रावधान रहेको छ । वि.सं. २०६७ मा स्थापना भएको विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहमा ४५०० विद्यार्थी अध्ययनरत छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>